मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिवेशनको पूर्वसन्ध्यामा गठित विभाग अमान्य

महाधिवेशनको पूर्वसन्ध्यामा गठित विभाग अमान्य


काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा इतर समूहका जिल्ला सभापतिहरूले महाधिवेशनको पूर्वसन्ध्यामा गठन भएका विभाग अमान्य हुने निष्कर्ष निकालेका छन्।सभापति हरूको भर्चुअल बैठकले लामो समय विभागमा कसैलाई पनि जिम्मेवारी नदिई स्वेच्छाचारी तवरले सञ्चालन गरी महाधिवेशनको पूर्वसन्ध्यामा गठन गरिएको भन्दै यस्तो निर्णय गरेको हो।

‘वर्तमान केन्द्रीय समितिलगायत सम्पूर्ण समितिले आफ्नो कार्यकालको अवधि पूरा गरिसकेको अवस्थामा र पार्टीको १४ औं महाधिवेशन पनि घोषणा भइसकेको परिस्थितिमा पार्टीका विभिन्न विभाग अवैधानिक एवम् स्वेच्छाचारी ढंगले विधानमै व्यवस्था नभएका विभागमा मनोनयन गर्नु हास्यास्पद छ’, बैठकपछि सभापतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कार्यविधिअनुसार समायोजन सम्पन्न भएका डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लामा विभिन्न बहानामा रोकिएको क्रियाशील सदस्यता फाराम तत्काल उपलब्ध गराउन बैठकले माग गरेको छ। त्यस्तै तेह्रौं महाधिवेशनमा सम्पूर्ण विधि प्रक्रिया पूरा गरी केन्द्रमा बुझाइएका क्रियाशील सदस्यता तत्काल जिल्लामा पठाउन पनि जिल्ला सभापतिले माग गरेका छन्।

सदस्यता वितरण पार्टीको विधानअनुसार गर्नुपर्ने र नियमावलीमा गरिएको व्यवस्था खारेज गरिनुपर्ने उनीहरूले बताएका छन्। जिल्ला सभापतिहरूले एक निर्वाचन क्षेत्र भएका जिल्लामा पनि महाधिवेशन प्रतिनिधिबाट सभापति चयन गरिनुपर्ने भनेका छन्।

केन्द्रीय निर्वाचन समितिको विश्वसनीयताप्रति हाम्रो ध्यान आकर्षित भएको भन्दै उनीहरूले यस प्रकारका क्रियाकलाप रोकी निष्पक्षता र तटस्थता कायम गर्न आग्रह गरेका छन्।

‘पार्टीका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने, प्रस्तावक र समर्थक बस्ने, अन्य उम्मेदवारलाई सघाउनेहरू विधानअनुसार नै स्वतः पार्टीबाट बर्खास्त हुने प्रस्ट व्यवस्था छ,’ उनीहरूले भनेका छन्, ‘विधानअनुसार तत्काल कारबाही गरिनुपर्नेलाई नगरी अधिवेशनको कार्यतालिका प्रकाशित भइसकेपछि प्रतिशोधका आधारमा कारबाही गरिएको छ। यस प्रकारका गतिविधि रोकिनु आवश्यक छ।’

पार्टी एकीकरण वा प्रवेश गर्ने समूह वा व्यक्तिको हकमा पार्टीको विधानअनुसार पार्टीको तल्लो तहबाटै क्रियाशील सदस्यता दिने व्यवस्था सुनिश्चित गर्न पनि उनीहरूले माग गरेका छन्। कांग्रेसका सभापति र केन्द्रीय समितिमा रहने नेताहरूको सम्झौतावादी नीतिका कारण लोकतान्त्रिक पद्धति कमजोर र निष्क्रिय प्रायः हुँदै गएको बैठकको निष्कर्ष छ।

बैठकमा सभापतिहरूले पार्टीको वर्तमान अवस्था र क्रियाकलाप, कोरोना भाइरसको संक्रमण, सरकारका क्रियाकलाप, सीमा विवाद, बाढीपहिरो र डुबानले आक्रान्त देशको अवस्था, संकटको बाटोमा हिँडिरहेको अर्थतन्त्र, देश र जनताको अवस्थालगायतका विषयमा छलफल गरेका थिए। – नेपालसमय