मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बझाङको जयपृथ्वी राजमार्ग पाँच दिनदेखि बन्द

बझाङको जयपृथ्वी राजमार्ग पाँच दिनदेखि बन्द


बझाङ – जिल्लाको सदरमुकाम चैनपुर जोड्ने एक मात्रै खाड्पे बझाङ सडक बन्द छ । जयपृथ्वी राजमार्गको तमैलको जाले बगरमा सेती नदीले सडक कटान गरेको पाँच दिन बितिसक्दा पनि नखुलेको हो ।

भत्किएको सडक मर्मत नभएपछि जिल्लाभित्र चल्ने गाडी बीच बाटोमा नै रोकिँदा यात्रुलाई सास्ती भएको छ । सडक मर्मत गर्ने सडक डिभिजन कार्यालय बैतडीले काम छिटो छरितो नगरेका कारण समस्या भएको स्थानीयको आरोप छ ।

गएको सोमबार सेती नदीमा बाढी आएपछि तमैलको जाल्या बगरमा २० मिटर सडक नदीले कटान गरी भत्काएको थियो । जिल्लाको सदरमुकाम जोड्ने सडक बन्द भएको पाँच दिन भइसक्दा पनि सम्बन्धित निकायले चासो नदिँदा समस्या भएको स्थानीय शिवराज रोकायाले बताए ।

अहिले चैनपुरबाट गएका गाडीहरु तमैलमा नै रोकिने गरेका छन् भने जिल्लाको तल्लो क्षेत्र विथ्थडचिर बुंगल नगरपालिकालगायतका पालिकाबाट आएका गाडीहरु परीगालमा नै रोकिएका छन् । सडक बन्द हुँदा सदरमुकाम चैनपुरमा तराईबाट आयात हुने तरकारी र खाद्यान्न नआएपछि बजारमा दैनिक उपभोग्य वस्तुको समेत अभाव हुने देखिएको छ ।

सडक डिभिजन कार्यालय बैतडीका प्रमुख रमेश चौधरीले सडकमा बढी क्षति भएका कारण मर्मत गर्न केही समय लागेको बताउँदै अबको २र३ दिनभित्र सडक खुल्ने जानकारी दिए ।