काठमाडौं – नेपाली कांग्रेसका युवा पुस्ताको बेलाबखतमा सार्वजनिक हुने संयुक्त प्रयत्नले पार्टीमा खासै प्रभाव छोड्न सकेको छैन। सामूहिक प्रयत्नलाई जोड दिने प्रतिवद्धता सहित कोठे बैठक तथा संयुक्त वक्तव्यका दर्जनौं प्रयासले परिणाम दिन सकेको छैन। ‘पार्टी बदल्ने र आफू बदलिने’ अभिव्यक्ति जाहेर गर्ने युवा नेताको समूहले सफलता पाएको देखिँदैन।
निर्वाचन पराजयपछि मूलतः संस्थापनइतर समूहका युवा नेता नेताहरुले गठजोड बनाउने प्रयास गरे। पार्टीलाई सशक्त बनाउने, नेतृत्वलाई सुधार्ने र युवा पुस्ता पनि बदलिने उनीहरुको आकांक्षा थियो। तर, मूर्त रुप पाउन सकेको छैन। गुटको चंगुलबाट बाहिर निस्कन नसकेका युवा नेताहरुले विद्यमान पद्धतिबाटै दललाई समयसापेक्ष बनाउनेमा आशंका यथावत छ।
संयुक्त प्रयासको सिलसिला
२०७४ सालमा सम्पन्न चुनावमा पराजय भएको ‘आलो घाउ’ कांग्रेसमा कायमै थियो। अन्यौलकै अवस्थामा कांग्रेसका सात युवा नेताले २०७४ पुस १५ गते एउटा संयुक्त विज्ञप्ति जारी गरे। युवा पार्टी पराजयको ‘निर्मम समीक्षा’ सुरु गर्न माग गरिएको सो विज्ञप्तिमा युवापुस्ताका नेताहरु विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, र बद्री पाण्डे थिए।
विज्ञप्तिमार्फत युवा नेताहरुले भने( हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्ने छौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्याउने छौं। तर संयुक्त विज्ञप्ति सार्वजनिक भएको १२औं दिनमै अर्थात् पुस २६ गते विश्वप्रकाश शर्मा पार्टी प्रवक्ता बने। सात जनाको समूहबाट बाहिरिए। सभापति देउवाको क्याम्पमा गए। ‘एज होइन, एजेण्डा’ भन्ने थाले।
एकजना हस्ती नै संस्थापनको रक्षक बन्न गएपछि सात भाइको शक्ति घट्यो। शर्माप्रति बाँकी सदस्यले आन्तरिक असन्तुष्टि पोखे। यो समूहबाट शर्मा बाहिरिएपछि बाँकी नेताहरुले कांग्रेसमा देखिएको संकटको ठोस विश्लेषण गर्ने र आगामी बाटो खोज्ने प्रयास गरिरहे। त्यसपछि उनीहरुले महासमिति बैठक र अर्ली महिवेशनमा जोड दिएको पाइन्छ।
चुनावमा पार्टीले नहारेको जिकिर संस्थापन पक्षको थियो। त्यसलाई रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षधरले स्वीकार गरेनन्। सभापति देउवाकै कार्यशैलीले निर्वाचनमा हार भएको र त्ययसको जिम्मा पनि उनैले लिनुपर्ने उनीहरुको माग थियो। पार्टीभित्र निर्वाचनको समीक्षा गर्न केन्द्रीय कार्यसमिति बैठकको माग उठिरहेकै थियो।
२०७४ चैत(वैशाखमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा शर्मा बाहेकका ६ जना सदस्यले ५१ पृष्ठको संयुक्त प्रतिवेदन पेश गरे। तथ्यपरक शैलीमा तयार गरिएको प्रतिवेदनमा उनीहरुले भावनात्मक आवेगभन्दा इतिहासदेखिकै कांग्रेसको भूमिकालाई केलाउँदै आगामी बाटोको नक्सांकन गर्ने प्रयास गरे।
प्रतिवेदनमा विधान विपरीत गएर भए पनि अग्रिम महाधिवेशनमा जानुपर्ने माग गरिएको थियो। महासमिति बैठकबाट संशोधित विधान पारित गरी शीघ्र महाधिवेशनमा जानुपर्ने विकल्प उनीहरुको थियो। ुमहासमितिबाट पार्टीको नयाँ कार्यक्रम र संगठनको नयाँ संरचनाको निर्धारण हुन्छ,ु प्रतिवेदनमा भनिएको छ, ुतर अहिलेको विधान अनुसार जाँदा छिटोमा महाधिवेशन सम्पन्न गर्न अर्को दुई वर्ष लाग्छ।ु
प्रतिवेदनको पक्षमा उनीहरुले लामै समय बहस र चर्चामा ल्याए। २०७५ असारमा हेटौंडामा जारी जिल्ला सभापतिको भेलामा पनि उनीहरुले सो प्रतिवेदन वितरण गरे। २०७५ असार ६ गते उनीहरुले जिल्ला सभापतिहरुलाई सम्बोधन गर्दै पत्र लेखे र ५१ पृष्ठको प्रतिवेदन पनि अध्ययनको लागि वितरण गरे। सो समूहमा ८ जना चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादव थिए। ‘महासमितिमार्फत पार्टीको संघीय विधान पारित गरी शीघ्र महाधिवेशनको प्रक्रिया थाल्नु नै आजको आवश्यकता हो’, सभापतिहरुलाई लेखेको पत्रमा भनिएको थियो।
२०७५ मंसिरमा भएको महासमिति बैठकमा सोही प्रस्तावलाई १२ जना युवा नेताले अघि सारे। केन्द्रीय समितिमा पेश गरिएको ५१ पृष्ठ लामो प्रतिवेदनलाई विस्तार गरी ८८ पृष्ठको बनाइएको थियो। १२ जनामा चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, प्रदीप पौडेल, कमला पन्त, रत्ना शेरचन, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, कल्याण गुरुङ, रामकृष्ण यादव र किरण यादव थिए।
सामूहिक अभिव्यक्तिको क्रममा रोकिएको छैन। पछिल्लो समय फेरि पनि १२ युवा नेताको सार्वजनिक वक्तव्य आएको छ। मंगलबार सार्वजनिक विज्ञप्तिमा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, गुरुराज घिमिरे, बद्री पाण्डे, रत्ना शेरचन, जीवन परियार, प्रदिप पौडेल, सरिता प्रसाईं, रामकृष्ण यादव, किरण यादवको नाम छ। यसअघि विगतमा संस्थापन इतर समूहमै रहेका कल्याण गुरुङ यो समूहमा देखिएका छैनन्।
वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहका युवा पुस्ताका नेताहरुका भेट र वक्तव्यको क्रमले निरन्तरता पाइरहेको छ। उनीहरुले सार्वजनिक एकल अभिव्यक्तिबाट पनि उस्तै कुरा उठाइरहेका पाइन्छन्।
पार्टी र युवा पुस्ता जहाँको त्यहीँ
निर्वाचन पराजयसँगै शीघ्र महाधिवेशन गर्ने र सभापति देउवाले पदत्याग गर्नुपर्ने युवा नेताहरुको माग थियो। २०७५ वैशाख ११ मा केन्द्रीय कार्यसमितिमा पेश गरिएको प्रतिवेदनमा सभापतिलाई अनुरोध गर्दै भनिएको छ, ुयतिवेला चुनावी परिणाम तातो रहेको अवस्थामा नेतृत्वको कमजोरी मात्र देखिरहेका छौं होला, तर अविलम्ब महासमिति बैठक र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्नेतर्फ लाग्नुभयो भने त्यो सभापतिज्यूको व्यक्तिगत हितमा त हुन्छ नै नेपाली कांग्रेस पार्टी, यसका लाखौं कार्यकर्ता र आमजनताले गौरव गर्ने नेतृत्वको पंतिमा अर्को एक नेतालाई जोड्न पाउँनेछन्।ु
युवापुस्ताले उठाएको शीघ्र महाधिवेशनको मागलाई संस्थापन पक्षले सुन्ने चेष्टा नै गरेन। सभापतिले पद त्याग्ने विषय त झन परको विषय भइहाल्यो। नियमित समयमा महाधिवेशन गर्ने प्रयास नगरेका सभापति देउवाले विरोधी खेमाका युवाको कुरा सुनेको नसुन्यै गरिदिए।
‘प्रजातान्त्रिक दलभित्र उठेका कुरालाई नजरअन्दाज गर्नु नेतृत्वको कमजोरी हो’, युवा समूहका एक सदस्य गुरुराज घिमिरे भन्छन्, ‘मुद्दालाई निरन्तरता दिएर थप सशक्त बनाउँ सुन्न बाध्य पार्न नसक्नु हाम्रो पनि कमजोरी छ।’
नेतृत्वमा रहेका पुराना मान्छेको स्वभाविक बहिर्गमन युवा पुस्ताले चाहेको थियो। क्रियाशील सदस्यतामै अंकुश लगाउने शीर्ष तहका नेताको हर्कतले युवाको सहज प्रवेश कांग्रेसमा सम्भव छैन। युवा नेताहरुले स्विकारोक्तिले उक्त कुरालाई पुष्टि गर्छ। युवा पुस्ताका नेताको सामूहिक बोली छ, ‘नयाँ मान्छेको आगमन नहुनाले पार्टी जमेको पोखरीजस्तो छ।’
अहिलेकै संरचनामा युवा नेतालाई नेतृत्वदायी भूमिका देख्न नसकिने राजनीतिक विश्लेषक कृष्ण खनाल दाबी गर्छन। खल्तीको व्यक्तिलाई अघि बढाएर नेतृत्वको विकास नहुने उनको भनाई छ।
मूल नेतृत्वमा पुगेकाले पार्टी कब्जा गर्ने प्रवृति रहेको खनाल सुनाउँछन्। पार्टी नै कब्जा गर्ने प्रवृत्तिको प्रतिवाद युवापुस्ताबाट हस्तक्षेपकारी नभएको उनको ठहर छ। ‘खल्तिबाट निकालेर क्रियाशील सदस्यता वितरण हुन्छ। तिनैले चुनेर प्रतिनिधि बनेर आउने पद्धतिले पार्टी कसरी सुधारिन्छरु’, खनाल प्रश्न गर्छन्।
निर्वाचन पश्चातका ३३ महिने अवधिमा युवापुस्ताको सक्रियताले सार्थकता प्राप्त गर्न सकेको छैन। उनीहरुले उठाउने गरेको विधि र पद्धतिको मागलाई बेवास्ता गर्दै नेतृत्व आफ्नै ढंगले अघि बढ्दै गएको छ।
युवापुस्ताले उठाएका पद्धतिको माग लागू हुन नसकेको युवा नेता स्विकार्छन्। समयानुकल पार्टी परिचालित नभएको निष्कर्ष निकाल्ने युवा पुस्ताले आफूहरुमा पनि चेत नपसेको स्विकार गर्ने परिस्थिति बनेको छ।
नेतृत्वमा हस्तक्षेप नगरी पालो पर्खेर बसे युवाको समय नै नआउने राजनीतिक विश्लेषक कृष्ण खनाल बताउँछन्। ‘युवाहरुले ‘रिस्क’ लिन सक्नुपर्छ। रिस्क लिने र आफूलाई तयार गर्ने युवा कांग्रेसमा कम देखिएका छन्’, खनाल भन्छन्, ‘उनीहरु ठूला नेताकै आश्रयमा छन्।’
आश्रयबाट मुक्त भएर आफ्नै बाटो अबलम्बन गर्न उनले युवा नेतालाई सुझाव दिन्छन्।
एकाकार हुनै सक्दैनन् युवा नेताहरू
युवापुस्ता एकै स्थानमा उभिन नसक्ने तथ्य केही दिन अघिको एक कार्यक्रमको संवादबाट थाहा हुन्छ। ‘नेपाली राजनीतिमा कांग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताको संगठित प्रयास’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो। पार्टीका तीनै समूहका युवा नेताले आ–आफ्नै पक्षको वकालत गर्दै अभिव्यक्ति दिए। पार्टी विधान, भावी नेतृत्व, युवा पुस्ताको सामूहिक प्रयत्न लगायतका विषयमा बोलेका नेताहरु एकले अर्कोको दोषारोपणमै समय खर्चे।
उमेरले ४० कटे पनि युवा पुस्तामै गनिने केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन्, ‘नेताको दौराको फेर छोड्न नसक्नु नै हाम्रो विडम्बना हो।’युवाहरुको अनुहारमा बुढानिलकण्ठ र बोहोराटारको छायाँ देखिएको आरोप लाग्दै आएको छ। नीति सिद्धान्तको बहसलाई युवा पुस्ताले समेत छोडेको प्रति गुरुङ दुखेसो पोख्छन्।
कांग्रेस भित्रका समूहमा एक पक्षले अर्कोलाई आक्षेप लगाउने गरेता पनि आफ्नै समूहको नेतृत्वप्रति प्रश्न उठाउँदैनन्। उक्त प्रवृत्ति नयाँ पुस्ता भनिनेमा समेत छ। सभापति देउवा निकट केन्द्रीय सदस्य एनपी साउदको स्वीकारोक्ति छ, ‘सार्वजनिक खपतका लागि एकले अर्को पक्षलाई गाली गर्न हामी पछि पर्दैनौं।’
गत मंगलबार संयुक्त वक्तव्यमा सहभागी युवापुस्ताको गठजोडलाई महाधिवेशनसम्मै पुर्याउने बताएका छन्। १२ बाट विस्तारित गरेर २५ सदस्य पुर्याउने युवा समूहको लक्ष्य छ। नेतृत्वले आफ्ना एजेण्डाको सुनुवाई नगरे युवा पुस्ता नै महाधिवेशनमा प्रतिस्पर्धी हुने घिमिरेले दाबी गरे। संस्थापन समूहकै युवा नेतालाई पनि युवा समूहमा ल्याउने प्रयत्न समेत छ।
गुट छोड्नै नसक्ने प्रवृत्ति
नेपाली कांग्रेसका केही युवा पुस्ताका नेतामा पार्टीभित्र मात्रै होइन, बाहिर पनि राम्रो छवि छ। उनीहरुले बोलेको विषय पार्टीभित्रकाले मात्रै होइन, बाहिरकाले पनि सुन्छन्। विश्वप्रकाश शर्मा, गगन थापा तथा प्रदीप पौडेल लगायतका नेताले गुटको फेर समात्नुपर्ने बाध्यता नरहेको बताइन्छ। उनीहरु बोलेका विषय सिधै सम्बन्धित क्षेत्रमा पुग्ने गरेको छ। फरक विचार राख्नेहरुले पनि उनीहरुको अभिव्यक्तिलाई महत्त्व दिएका हुन्छन्।
पार्टी बाहिर समेत राम्रो छवि बनाएका कतिपय नेताहरुले समेत गुटको दलदलबाट बाहिर निस्किने चेस्टा गरेका छैनन्। गुटबाट निस्कनै नसक्ने युवा पुस्ता र सुधारै नभएको पार्टी पद्धतिले युवा नेताले हस्तक्षेप गर्नै नसक्ने विश्लेषक खनाल ठोकुवा गर्छन्।
राजनीतिक भविष्यको लागि कुनै गुटको फेर समात्न युवा पुस्ता अभिशप्त छन्। असुरक्षित मनोविज्ञान पनि छ। युवा पुस्ताका नेता घिमिरे भन्छन्, ‘राजनीतिक भविष्यका लागि समूहको नेताको पछि लाग्ने पक्ष एकदमै त्रासदीपूर्ण छ। आफ्नो राजनीतिक असुरक्षाको भयले काम गरेको छ।’
पक्षधरता लिने पररम्पराले समेत युवा पुस्ताको एकत्वमा बाधा पुर्याएको छ। आफू निकट रहेको नेतृत्वले गलत कार्य गरे पनि ढाकछोप गर्ने परम्परा व्याप्त छ।
पुरानो पुस्ताका नेताले पार्टीमा आफ्नै संरचना बनाएका छन्। त्यसै संरचनामा अडिन युवा नेता पुगेका छन्। गुटका शीर्ष नेताकै छत्रछायामा आगामी महाधिवेशनमा युवा नेताले आफ्नो स्थान सुरक्षित गर्ने देख्छन्, विश्लेषक खनाल।
युवापुस्ताले उठाउने गर्थे, ‘वर्तमान कांग्रेस र कांग्रेसीको सबैभन्दा ठूलो समस्या हाम्रो अस्तित्वको संकट हो।’ यसरी ‘हाम्रो अस्तित्व’ अन्तर्गत युवा पुस्ताका नेताहरु पनि निजी अस्तित्व बचाउन संघर्षरत छन्। – नेपाल लाईभ
प्रतिक्रिया