काठमाडौं – निर्वाचनमा पराजित भएको कांग्रेसका लागि २०७४ को पुस चरम पीडाकै अवस्था थियो। इतिहासकै ‘शर्मनाक’ हार भन्दै पार्टीभित्र नेतृत्वप्रति अविश्वास चुलिएको थियो।
पुरानो पुस्ताभन्दा एक कदम अघि बढेर निर्वाचनको निर्मम समीक्षा गर्न युवापुस्ताका नेताहरू अघि बढे। २०७४ पुस १६ मा सात युवा पुस्ताले संयुक्त वक्तव्य निकाले। सभापति शेरबहादुर देउवाप्रति प्रश्न तेर्स्याए। कांग्रेस सुधार्ने र आफू पनि बदलिने युवा नेताहरुले वक्तव्यमार्फत् उनीहरूले प्रतिबद्धता जनाए। तत्कालीन समयमा निकालिएको संयुक्त वक्तव्यमा भनिएको थियो, ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिनेछौं, कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्याउनेछौं।’
वक्तव्य निकाल्नेमा हालका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मासमेत थिए। शर्मासहित धनराज गुरुङ, चन्द्र भण्डारी, गगन थापा, बद्रि पाण्डेय, गुरुराज घिमिरे र प्रदीप पौडेलले पार्टी र आफू स्वयंलाई परिवर्तन गराउने प्रतिबद्धता समेत गरेका थिए। पार्टी त परिवर्तन हुन सकेन नै‚ विगत साढे दुई वर्षमा आफूहरू पनि नबदलिएको स्वयं युवा नेताहरुले स्वीकारेका छन्। ‘सात भाइ’ समूहमा रहेका प्रदीप पौडेल उपस्थित नभएको एक कार्यक्रममा युवा नेताहरुले आत्मसमीक्षा गरेका छन्। र‚ गठजोड बनाउन समेत चुकेका छन्।
‘नेपाली राजनीतिमा कांग्रेसलाई भरोसाको केन्द्र बनाउन युवा नेताको संगठित प्रयास’ अन्तरक्रियामा उक्त समूहका ६ जना उपस्थित थिए। ती नेताहरूका अतिरिक्त पार्टीका तीन समूहका अन्य युवा पुस्ताका नेता पनि सहभागी थिए। २०७४ को पुसमा सात युवाले निकालेको वक्तव्य केन्द्रीय सदस्य जीवन परियारले स्मरण गराए। तत्कालीन समयमा जनाएको प्रतिबद्धताअनुसार युवा पुस्ताका नेताहरु एकत्रित हुन नसकेको उनले गुनासो गरे। उनले प्रश्न गरे, ‘सात युवा नेताले पार्टी र आफू बदलिने भन्नुभएको थियो। पार्टी र आफू कति बदलिनुभयोरु’ पार्टी र युवापुस्ता परिवर्तन नभएको परियारको जिकीर थियो।
पुरानो पुस्ताले गर्दा पार्टी बिग्रेको आरोप लगाइरहने नयाँ पुस्ता किन एकत्रित हुन सक्दैनरु पार्टीभित्र बहसको विषयसमेत हुने गरेको छ। स्वार्थका लागि खडा भएका समूहमा ‘स्वार्थ’कै लागि युवा पुस्ताले नेताको फेर समातेका छन्। उमेरले ४० कटे पनि युवा पुस्तामै गनिने केन्द्रीय सदस्य धनराज गुरुङ भन्छन्, ‘नेताको दौराको फेर छोड्न नसक्नु नै हाम्रो विडम्बना हो।’ युवाहरुको अनुहारमा बुढानिलकण्ठ र बोहोराटारको छायाँ देखिएको आरोप लाग्दै आएको छ। नीति सिद्धान्तको बहसलाई युवा पुस्ताले समेत छोडेको प्रति गुरुङ दुखेसो पोख्छन्।
युवापुस्तामै समस्या बढ्दै गएको छ। पार्टीलाई गतिशील बनाउन एकताबद्ध हुने प्रतिबद्धता जनाएपनि कार्यान्वयन हुन सकेको छैन। सामूहिक आवाज बनाउने निर्णयबाट प्रवक्ता शर्मा विमुख भएको अन्य युवा नेताको बुझाइ छ। त्यसैतर्फ संकेत गर्दै केन्द्रीय सदस्य गुरुराज घिमिरे भन्छन्, ‘प्रश्न हामीभित्रै छ। संगठित रुपमा नेतृत्वसँग कुरा गर्न युवा पुस्ता नै प्रतिबद्ध छैन।’ मूल नेतृत्वले पार्टीको धरातल र आइडोलोजी बिर्सेको धारणा राख्ने घिमिरेले नीतिको कुरा युवा पुस्तामा हुने गरेपनि कार्यान्वयनमा चुकेको बताए। पार्टीका अंगहरु लथालिङ्ग र भताभुङ्ग हुनुमा युवापुस्ताको पनि कमजोरी रहेको उनले स्वीकारे। ‘फोकस अन जब’बाट कांग्रेस विकेन्द्रित भएको उनको तर्क छ।
युवा उमेर समूह पार गरेपनि युवा नेताकै दर्जामा आफूलाई चिनाउँदै आएका नेताहरुले कांग्रेस पार्टी ‘पार्टी’कै रुपमा नभएको जनाउँछन्। मूल नेतृत्वलाई समयासापेक्ष बनाउन नसक्नुमा आफ्नो पनि जिम्मेवारी ठान्छन्। जनअपेक्षाअनुसार पार्टी सञ्चालन नभएको बुझेका नेता नवीन्द्रराज जोशी भन्छन्, ‘पार्टीभित्र कसले कति खाने भन्ने छ। प्रवृत्ति ऊ फलानो समूहको र ऊ मेरो समूहको भन्ने छ।’ नेतृत्वको फेर समात्नु गलत भएको युवा पुस्ताका सबै नेताले बुझेका छन्। तर, एउटा समूह छोड्न सक्दैनन्। नेता जोशी भन्छन्, ‘एउटा नेताको फेर समातेर नेता बन्न युवा पुस्ताले खोजेको छ। प्रश्न पुरानालाई भन्दा हामीलाई बढी छ।’
पुरानो पिढीलाई मूल नेतृत्वबाट बिदा गर्नुपर्नेमा समेत युवा भनिने नेताहरुको मतैक्यता छैन। परिवर्तित समयलाई आत्मसाथ गर्ने नेतृत्व खोज्नुपर्ने बताएपनि अहिलेको मूल नेतृत्व हटाउन सक्ने क्षमता तेश्रो पुस्तामा छैन। सो पुस्तामा हिम्मत र ऊर्जा नभएको निरीहतातर्फ इङ्गित गर्दै आफ्ना समकालीन नेताहरूलाई केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले भने‚ ‘ऊर्जा जाँगर र क्षमता हामीमा छैन।सामूहिक प्रयत्न गरी नेतृत्व लिने फरक कुरा हो।’
अघिल्लो पुस्ताले बाटो खाली नगरेपछि पछिल्लो पुस्ता अवसरबाट वञ्चित हुनु स्वभाविक पनि हो। तेश्रो तहबाट १३ औं महाधिवेशनमा हिम्मत जुटाएर अघि बढेका केन्द्रीय सदस्य थिए गगन थापा। महामन्त्रीमा भिडेका उनलाई युवा भनिएकाबाटै असहयोग भयो। गत महाधिवेशनमा पनि युवा पुस्ताबाट नेतृत्वमा दाबी गर्नुपर्ने भन्दै अघि सरेपनि अन्तिममा एक्लै मत माग्दै हिँड्नुपरेको तीतो यथार्थ उनले सुनाए। युवा पुस्ताले विगतको परम्परा नदोहोर्याई सहयोग गर्ने प्रतिबद्धता जनाए सभापतिकै उम्मेदवार बन्ने उनले बताए। युवाबाट नेतृत्व दाबी गर्ने अवस्था नरहे विकल्पको रुपमा नयाँ प्रस्ताव अघि सार्दै सामूहिक प्रतिबद्धता जनाउन समेत आग्रह गरे। उनको प्रस्ताव थियो, ‘आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न नसके राजीनामा दिने शर्तमा सभापति चुनौं।’ पार्टी बलियो हुने तथा गुटबन्दी हट्ने आशयले उनले नयाँ विकल्प प्रस्तुत गरेका थिए। नयाँ विकल्पका विषयमा युवा पुस्तामा छलफल सुरु हुन भने सकेको छैन।
युवा पुस्ताको शक्तिको परीक्षण गर्न चाहेका सभापति शेरबहादुर देउवाले केही दिनअघि केही नेतालाई बताइसकेका पनि छन्। बुढानिलकण्ठ गएका युवा पुस्ताका नेताको भेटको स्मरण गर्दै नेता चन्द्र भण्डारी भने, ‘गिरिजाको एकछत्रविरुद्ध लडेर शेरबहादुर भएको हुँ। सबैभन्दा कमजोर युवाहरू नै देखियौं।’
एक पक्षले अर्को समूहलाई गाली गर्ने कांग्रेसको पुरानै प्रवृत्ति हो। उक्त प्रवृत्ति युवा भनिने नेताहरुमा समेत यथावत छ। गुटले व्यक्तिको दृष्टिकोण कमजोर बनाउने बुझाइ नेता एनपी साउदको छ। सार्वजनिक खपतका लागि एक समूहले अर्को समूहलाई आक्षेप लगाउन युवा पुस्ता पनि कमजोर नभएको उनको ठहर छ। ‘पार्टीको संकटका लागि छलफल गर्छौं। तर, एक समूहले अर्को समूहलाई गाली गर्न छाड्दैनौं’ गुटमा जर्नेल बन्ने चिन्ता सबैमा रहेको उनले सुनाए।
पुरानो पुस्ताले त नीतिमा बहस गर्न छोड्यो नै। नयाँ पुस्ता पनि भविष्यको कुरा गर्न तत्पर छैन। कांग्रेसको पहिचानको छलफल समेत नयाँ पुस्ताले नगरेको प्रति शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवाली निराश छन्। उनी भन्छन्, ‘कांग्रेसमा नेतृत्व छैन। नेतागिरी छ। कांग्रेसको आफ्नो पहिचान छैन।’ कांग्रेसको मार्गनिर्देशक नीति बनाउन सक्ने नै कांग्रेसको युवा नेता बन्ने उनको तर्क छ। – NepalLive
प्रतिक्रिया