मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सचिवालय बैठक बोलाउन खनाल, नेपाल र श्रेष्ठको माग

सचिवालय बैठक बोलाउन खनाल, नेपाल र श्रेष्ठको माग


काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा कार्यदलबारे नयाँ विवाद देखापरेको छ । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विवाद समाधान गर्न महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
 
कार्यदलको कार्यदेश प्रष्ट नभएको र कार्यदल गठनको आवश्यकता किन पर्‍यो भनेर पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले अध्यक्ष प्रचण्डलाई प्रश्न उठाएका छन् ।
 
शनिबार बिहान पार्टी अध्यक्ष प्रचण्डको निवासमा चारजना नेताको बैठक बसेको थियो । अनौपचारिक बैठकमा प्रचण्डले शुक्रबार ओलीसँग भएको कुराकानी र कार्यदलबारे नेताहरूलाई जानकारी गराएका थिए । बैठकमा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठले सचिवालयको बैठक डाक्न माग गरेको स्रोतले जानकारी दियो ।
 
“पार्टी कमिटीको बैठक चलिरहेका बेला कार्यदलको आवश्यकता किन पर्‍यो ? कार्यदल नै बनाउने हो भने ठूलो दायरामा छलफल गरेर बनाउनुपर्थ्यो । कार्यदल बनी नै सकेको अवस्थामा अब सचिवालय बैठक बोलाएर त्यसले कार्यदेश (टीओआर) दिनुपर्छ,” एक सचिवालय नेताले भने ।
 
शुक्रबार अध्यक्षद्वयले महासचिव पौडेलको नेतृत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शङ्कर पोखरेल, जनार्दन शर्मा, फम्पा भुसाल सदस्य रहेकोको कार्यदल बनाएको थियो ।
 
पार्टीभित्रको विवाद समाधान गर्न लिखित सुझाव दिन भनिए पनि इतरसमूहले सचिवालयले बसेर कार्यदललाई काम दिनुपर्ने सर्त अघि सारेको हो । – बाह्रखरी