मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिममा १५ जना कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा १५ जना कोरोना संक्रमित थपिए


धनगढी : सुदूरपश्चिम प्रदेशमा शनिबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज १५ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ६ सय २९ जनाको कोरोना परीक्षण भएको बताउँदै कैलालीका नौँ र कञ्चनपुरका चार जनामा संक्रमण देखिएको जानकारी दिए।

उनले कैलालीको धनगढी उप–महानगरपालिकाका तीन पुरुष र एक महिला गरी चार जना, घोडाघोडी नगरपालिका वडा नम्वर ८ का तीन महिला, गोदावरी नगरपालिका वडा नम्वर १० का एक महिला र एक पुरुष गरी दुई जनामा कोरोना पुष्टि भएको बताए।

सूचना अधिकारी श्रेष्ठले कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्वर १० का दुई महिला र एक पुरुष गरी तीन जना र बेल्डाँडी गाउँपालिका वडा नम्वर ४ का एक पुरुषमा संक्रमण देखिएको दिनेश खवरलाई बताए। 

उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज दुई जनामा कोरोना देखिएको छ। २४ घण्टामा दुई सय २६ जनाको स्वाब परीक्षण गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरी भुषालले जानकारी दिए।

उनका अनुसार डडेल्धुराको अमगरगढी नगरपालिका वडा नम्वर ६ की २३ वर्षीया युवती र बझाङको जयपुथ्वी नगरपालिका वडा नम्वर ५ का १८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। 

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ९४ पुगेको छ। सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

डोटीमा सात सय ९५, अछाममा सात सय ३७, बाजुरामा ६ सय २३ र कञ्चनपुरमा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डडेल्धुराका तीन सय १३, बैतडीका तीन सय एक, बझाङका दुई सय ९८ र दार्चुलाका ४५ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका चार हजार एक सय ५७ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ। – दिनेशखबर