सुर्खेत- कोरोना नभएको प्रमाण (पीसीआर रिपोर्ट नेगेटिभ) भएमात्रै आजदेखि कर्णाली प्रदेशमा प्रवेश पाइने भएको छ । प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै कर्णाली प्रवेशका लागि कोरोना भएका प्रमाण अनिवार्य गरिएको हो ।
पीसीआर रिपोर्ट नेगेटिभ भएको तीनदिनसम्म मात्रै मुख्य नाकाहरु सल्यानको कालिमाटी काल्चे र कपुरकोट, सुर्खेतको बबइ र कुइने नाकाबाट प्रवेश दिइने छ । तर रातीको समयमा भने नाका पूर्ण रुपमा बन्द हुने छन् ।
त्यस्तै कोरोना संक्रमण रोक्न भन्दै कर्णालीका चार वटा जिल्लाहहरुले सदरमुकाममा निषेधाज्ञा लागु गरेका छन् । आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर, मुगुको सदरमुकाम गमगडी, जुम्ला सदरमुकाम खलंगामा निषेधाज्ञा लागु गरिएको हो।
वीरेन्द्रनगरमा भदौँ ५ गतेसम्म, गमगडीमा भदौँ १५ गते र खलंगामा अनिश्चितकालिन निषेधाज्ञा लागु गरिएको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन् । त्यस्तै रुकुमपश्चिमको सदरमुकाम खलंगामा पनि गत बुधबारदेखि नै निषेधाज्ञा लागु भएको छ।
यो अवधिमा एम्बुलेन्स लगायत स्वास्थ्य संघ सम्बन्धित सेवाहरु, दुरसञ्चार, विद्युत, खानेपानी, दमकल, शवबहान सेवा भने नियमित सञ्चालन हुने छ । निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइनेछ भने धार्मिक, सामाजिक लगायतका जमघट गर्न पाइने छैन् ।
त्यस्तै कोरोना संक्रमणको जोखिम बढेको भन्दै सुर्खेतको भेरीगंगा नगरपालिकाले पनि मुख्य बजारहरु बन्द गरेको छ ।
नगरपालिकाका छिन्चु, जहरे, रामघाट र झिग्नी लगायतका मुख्य बजारहरु आजदेखि नै बन्द गरेको हो। हिन्दु नारीहरुको महान पर्व हरितालिका (तीज) मा हुने भिडभाडले कोरोना संक्रमणको बढ्ने निष्कर्ष निकाल्दै जिल्ला सदरमुकामहरुमा निषेधाज्ञा लागु गरिएको हो ।
प्रतिक्रिया