मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लाको उद्धार टोली बाढी प्रभावित क्षेत्रमा

जिल्लाको उद्धार टोली बाढी प्रभावित क्षेत्रमा


अछाम — बाढी प्रभावित क्षेत्र अछामको रामारोशन गाउँपालिकामा बुधबार दिउँसो जिल्लाको उद्धार टोली पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ गोकर्णप्रसाद उपाध्याय नेतृत्वको टोली सैनीबजार पुगेको हो ।

घाइतेको उद्धार र बेपत्ताको खोजीका लागि सेना र प्रहरीसहितको टोली परिचालन हुन लागेको प्रजिअ उपाध्यायले बताएका छन् । घटनास्थलमा देखिएका तीन घाइतेलाई तत्काल अस्पताल लैजाने तयारी भइरहेको उनले जानकारी दिए । 

मंगलबार राति आएको बाढीले बगाएका ६ जनाको शव फेला परेको छ । तर, उनीहरूको सनाखत भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढीमा अझै १८ जना सम्पर्कविहीन छन्।

बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र सेरीमा भेटिएको थियो ।

बाढीले दर्नाको पक्की पुलसमेत बगेको स्थानीय पुष्प विष्टले जानकारी दिए । ‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन्,’ उनले भने, ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।’

कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको उनले बताए । विष्टका अनुसार दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।