मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा बाढीले बगायो २२ घर, ६ जनाको मृत्यु, ११ वेपत्ता

अछाममा बाढीले बगायो २२ घर, ६ जनाको मृत्यु, ११ वेपत्ता


अछाम – मंगलवार राति अछामको कैलाश खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षती भएको छ। रामारोशन गाउँपालिका–५ सैनीबजारमा आएको बाढीले ठूलो जनधनको क्षती गरेको हो।

बाढीमा वेपत्ता भएका १७ जना मध्ये हालसम्म ६ जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले बताए। उनका अनुसार अहिलेसम्म तीन जनाको मात्रै सनाखत भएको छ भने ५ जनाको शव जिल्ला सदरमुकाममा ल्याइएको छ।

११ जना अझै वेपत्ता रहेको बताउँदै उपाध्यायले खोजी कार्य जारी रहेको बताए। वेपत्ताको खोजीका लागि डोटी र कैलाली जिल्लामा समन्वय समेत गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए।

चार जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका–३ रलेको लमतणा र सेरीमा भेटिएको हो। मृत्यु हुनेमा सैनीबजारका १२ वर्षीया नवीन साउद, ३२ वर्षीया गौरी शाह र ४८ वर्षीया चन्द्र साउद छन्। अन्य तीन जनाको सनाखत हुन बाँकी छ । 

बाढीले २२ घर बगाएको छ भने ९ वटा झोलुङ्गे पुल र ५ वटा लघु जलविद्युत आयोजनामा क्षति पुगाएको छ। बाढीले चार मोटरसाइकल र एउटा एम्बुलेन्स सहित २ वटा साना गाडी बगाएको छ।

ठूलो संख्यामा पशु चौपाया बगाएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। बाढीमा घाईते भएकी रामारोशन गाउँपालिका वडा नम्वर ७ बाट एक जना सुत्केरी महिलालाई हेलिकप्टर बाट उद्धार गरी थप उपचारको लागि सुर्खेतमा लगिएको छ।

प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासीको सहयोगमा थुपै्र व्यक्ति तथा घर परिवारको उद्धार भएको र थुप्रैलाई स्तानान्तरण गरिएको समेत प्रशासनले जनाएको छ।