काठमाडौं– खानपान व्यवस्थित नहुँदा निद्रा लाग्दैन। निद्राको कमीले टाउको दुख्छ। शरीर दुख्छ। हार्मोन सन्तुुलनमा गडबडी हुन्छ। मोटोपन, चिन्ता, निराशा जस्ता समस्या देखिन्छन्। त्यसैले स्वस्थ जीवनका लागि खानपानमा विशेष ध्यान दिनुपर्ने चिकित्सक बताउँछन्।
यति मात्र होइन, खानपानमा व्यस्थित नभए जीवनशैली अस्तव्यस्त बन्छ। यिनै कारणले पनि तनाव, उच्च रक्तचाप, हृदय रोग, मधुमेह रोगीको संख्या बढेको चिकित्सक बताउँछन्। योग तथा प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेलले भोजन, व्यायाम र तनाव व्यवस्थापनले जीवनशैलीमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार जीवनशैलीमा सबैभन्दा बढी प्रभाव भोजनकै हुन्छ।
दाल, भात, तरकारी, फलफूल, हरियो सागपात, दूध, दहीमा शरीरलाई चाहिने पोषण तत्त्व पाइन्छ। त्यसैले यिनलाई नियमित आहारको हिस्सा बनाउनुपर्ने पोखरेल बताउँछन्।
अव्यवस्थित खानपानले बढाउँछ रोग
नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको सर्वेक्षण (स्टेप्स सर्वे) अनुसार अस्वस्थ खानपिन र निष्क्रिय जीवनशैलीका कारण मोटोपन, उच्च रक्तचाप, मधुमेह बढ्दै गएको छ। नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगका कारण ६६ प्रतिशतको ज्यान जाने गरेको अध्ययनको निष्कर्ष छ।
खानपानमा सन्तुलन नमिल्नु, नुनको मात्रा धेरै हुनु, उमेरअनुसार खानेकुरा नखानु आदि कारणले स्वास्थ्य समस्या बढेको हो। यस्तै अव्यवस्थित जीवनशैली, शारीरिक रुपमा निष्क्रिय र खानपानमा विशेष ध्यान नदिँदा पनि मानिस रोगी बनेका छन्।
वीर अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रा.डा. विधाननिधि पौडेल खानपानमा ध्यान नदिँदा नेपालीमा मोटोपन बढ्दै गएको बताउँछन्। उनका अनुसार नेपालमा २० प्रतिशतभन्दा बढीमा मोटोपनको समस्या छ।
अव्यवस्थित खानपानले मधुमेह, उच्च रक्तचाप, मोटोपन, कोलेस्टोल जस्ता समस्या देखिने उनले बताए। कोरोना महामारीका कारण घरमै रहेका बेला खानपान र जीवनशैली नियमित बनाउनुपर्ने उनको सुझाव छ। खानपानको शैली नियमित बनाएमा डाइटिङ गर्न आवश्यक नरहेको उनी बताउँछन्।
व्यवस्थित खानपनका लागि यस्ता छन् पौडेलका सुझाव–
खानाको दैनिक तालिका
–खानेकुरा नियमित एउटै तालिकामा खानुपर्छ। बिहानको नास्ता पेटभर खानुपर्छ। यसमा रोटी, गेडागुडी, फलफूल, ब्राउन ब्रेड, बटर, चीज, दुध, अण्डा, चिया, कफी खानु राम्रो हुन्छ।
– खाजा खाएको पाँच घण्टापछि खाना खानुपर्छ। खानामा दाल, तरकारी, साग, रोटी, मासु, फलफूल आदि हुनुपर्छ।
– दिउँसोको समयमा हलुका खाजा, चिया, कफी लिन सकिन्छ।
– बेलुकाको खाना ७ बजेसम्म खाइसक्नुपर्छ। बेलुका पनि दालभात नै खाने हो भने निकै कम खानुपर्छ। माछामासु बेलुका नखाँदा राम्रो हुन्छ। खाना खाइसकेपछि कम्तीमा २ घण्टा सुत्नु हुँदैन। खाना खानेबित्तिकै सुत्दा खाना नपच्न सक्छ।




















प्रतिक्रिया