मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पारौ : सभापति देउवा

स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पारौ : सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम, एकता र दृढताका साथ कोरोना भाइरसको सामना गर्न अपिल गरेका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गरेर सरकार, स्वास्थ्यकर्मीसँगै सम्पूर्ण नेपालीलाई संयम, एकता र दृढताका साथ कोरोना भाइरसको सामना गर्न अपिल गरेका हुन् ।

“देशका कैयौं भागमा लकडाउन र निषेधाज्ञा जारी रहेका कारण यतिबेला जनजीवन कष्टकर बनेको छ । कोरोना महामारीका कारण उत्पन्‍न यस्तो प्रतिकूल समयमा म समस्त दिदिबहिनी दाजुभाइलाई संयम र एकता साथ आजको परिस्थिति सामना गर्न हार्दिक अपिल गर्दछु,” उनले भनेका छन् ।

सभापति देउवाले कोरोना महामारीमा ‘फ्रन्ट लाइन’ मा कार्य गरिरहेकाहरुको उच्च सह्राना गर्दै उनीहरुका लागि अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्था गर्न र काम गर्न अत्यावश्यक सहज मनोवैज्ञानिक वातावरणमा खलल् हुन नदिन विशेष ध्यान पुर्‍याउन सरकारलाई आग्रह गरेका छन् ।

उनले केही स्थानमा स्वास्थ्यकर्मीहरुलाई निरुत्साहित गर्ने प्रकृतिका घटना भएको सुन्दा दुःख लागेको भन्दै स्वास्थ्यकर्मीहरु र स्थानीय नागरिकबीच कुनै पनि प्रकृतिको असमझदारी र द्वन्द्व उत्पन्न हुन नदिन तीनवटै तहका सरकारहरुलाई सजग गराएका छन् ।

“आजको युद्ध सिंगो संसारले स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिरहेको छ । आफू र आफ्नो परिवारको जोखिम लिएर मानवीय सेवाको कर्तव्य वहन गरिरहेका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्नु हामी सबैको अभिभारा हो । यो दायित्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न म समस्त दिदिबहिनी दाजुभाइलाई आग्रह गर्दछु,” सभापति देउवाले भनेका छन् ।

सभापति देउवाले लकडाउन र निषेधाज्ञाको समयलाई सदुपयोग गरेर सबल ढंगले कार्य गर्न सरकारलाई अपील पनि गरेका छन् । उनले पीसीआर परिक्षण ७७ जिल्लामै गर्ने गरी अविलम्ब क्षमता विस्तार गरेर समुदाय स्तरमा परीक्षण व्यापक रुपले पुर्‍याउन माग गरेका छन् ।

“कोभिड अस्पतालहरु निश्चित र व्यवस्थित गर्न, पर्याप्त आइसोलेसन वार्ड व्यवस्था गर्न, अत्यावश्यक भेन्टिलेटर जोहो गर्न माग गर्दछु,” सभापति देउवाले भनेका छन्, “खरिद प्रक्रियालाई पारदर्शी बनाएर कार्य गर्न र मापदण्डयुक्त सामग्री मात्रै खरिद गर्न सरकारलाई आग्रह गर्दछु ।” – बारह्खरी