मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरा प्रयोगशालामा आज सर्वाधिक कोरोना परीक्षण

डडेल्धुरा प्रयोगशालामा आज सर्वाधिक कोरोना परीक्षण


धनगढी: पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएको छ। यो अहिलेसम्मकै सबैभन्दा बढी कोरोना परीक्षण भएको तथ्यांक हो।

जनस्तरबाट जडान गरिएको डडेल्धुरा अस्पतालको प्रयोगशालामा स्थापना भएदेखि सोमबारसम्म १० हजार नमुना परीक्षण गरिएको छ। डडेल्धुरामा ७ पहाडी जिल्लाको नमूना परिक्षण भइरहेको अस्पताल प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालले बताए। ‘हामी दिनरात भोकतिर्खा नभनी काममा खटिएका छौं’ उनले भने, ‘देश र जनताको लागि सानो सहयोग गर्न पाएकोमा हामी खुसी छाैं। र, यो वातावरण मिलाउनुहुने सम्पुर्णमा धन्यवाद।’ 

आजभोलि सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा नमूनाको चाङ लागेपछि परीक्षणका लागि डडेल्धुरा अस्पतालमा पठाइने गरिएको छ। शनिबार मात्रै एक हजार ८ सय बढी नमूना डडेल्धुरा अस्पतालमा पठाइएको थियो। 

सोमबार एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला इन्चार्ज इश्वरीप्रसाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीको नेपाली सेना गणका एक जनामा कोरोना पुष्टि भएको छ। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ४ सय ६३ पुगेको छ।