मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारी अकर्मण्यता कारण कोरोना संक्रमण नियन्त्रण बाहिर – कांग्रेस

सरकारी अकर्मण्यता कारण कोरोना संक्रमण नियन्त्रण बाहिर – कांग्रेस

सुदूर आज

काठमाडौं– नेपाली कांग्रेसले सरकारी अकर्मण्यता र संवेदनहीनताका कारण कोरोना संक्रमण नियन्त्रणबाहिर जाँदा नागरिक जीवन अत्यन्त संकटमा रहेको जनाएको छ।

कांग्रेसको कोभिड–१९ अनुगमन समितिले बुधबार विज्ञप्ति जारी गर्दै सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण परेका आर्थिक सामाजिक असर ठोस योजना ल्याउन नसकेको आरोप लगाएको छ।

‘फेरि पनि हामी तत्कालै गर्नुपर्ने केही कामका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ समिति संयोजक एवम् कांग्रेस सहमहामन्त्री डा. प्रकाश शरण महतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले कोरोना संक्रमण रोक्ने उपाय र यसबाट उत्पन्न परिस्थिति सम्बोधन गर्न सरकारले चाल्नुपर्नेपर्ने कदमहरुका बारेमा निरन्तर खबरदारी गर्दै आएको छ।

नेपाली कांग्रेसद्वारा गठित कोभिड–१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको निरन्तर अनुगमनका आधारमा प्राप्त निष्कर्षहरु सार्वजनिक गर्ने र सरकारको ध्यानाकर्षण गर्ने काम निरन्तर रुपमा गर्दै आएको अनुगमन समितिले जनाएको छ।

यस्तो छ कांग्रेस अनुगमन समितिको ध्यानाकर्षण

१. अहिलेसम्म सरकार दिशाविहीन र योजनाविहीन छ। यस अवस्थामा कोरोना संक्रमणलाई नियन्त्रण गरी नागरिक जीवन सहज पार्ने ठोस अल्पकालिन र दीर्घकालीन योजना सार्वजनिक गरियोस्।

२. कोरोना संक्रमण फैलँदै गएको वर्तमान अवस्थालाई ध्यानमा राखी हरेक अस्पतालमा कोरोना संक्रमित बिरामी राख्ने कुरा व्यावहारिक नभएकाले तत्काल आवश्यक संख्यामा निजी अस्पतालहरुलाई कोरोना अस्पताल घोषणा गरियोस्।

३. अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गरियोस्।

४. स्वास्थ्यकर्मीहरुलाई विमाको व्यवस्था तत्काल कार्यान्वयन गर्नुको साथै कोरोना जोखिम भत्ताको व्यवस्था गरियोस्।
५. चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने गरेको दुव्र्यवहार र भौतिक आक्रमण रोक्ने समुचित व्यवस्था तत्काल सुनिश्चित गरियोस्। साथै संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीहरुको उद्धार र उपचारको व्यवस्था सरकारले गरोस्।

६. संक्रमणको सर्भिलेन्स र टे«सिङका आधारमा संक्रमणको सम्भावना ज्यादा भएका स्थानहरुमा पीसीआर परीक्षणलाई व्यापक बनाइयोस्।

७. उपचारका क्रममा उपयोगी औषधिहरुलाई सुलभ मूल्यमा तत्काल सहज उपलब्धता सुनिश्चित गरियोस्।

८. स्थानीय र प्रदेश तहमा स्वास्थ्यकर्मीहरुको कोरोना संक्रमण व्यवस्थापकीय तालिम विस्तार गरियोस्।

९. विदेशमा अलपत्र श्रमिकहरुलाई तत्काल नियमित उडानमा स्वदेश फिर्ता ल्याउने व्यवस्था सरकारले गरोस्।

१०. हवाई मार्ग तथा स्थल मार्गबाट स्वदेश फर्कने नेपालीहरुलाई व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्था मिलाइयोस्।

११. देशभर आवश्यक मात्रामा आइसोलेसन केन्द्र र क्वारेन्टिन केन्द्रहरु स्थानीय सरकारको सहकार्यमा तत्काल व्यवस्था मिलाइयोस्।

१२. कोरोना संक्रमण भएकाहरुलाई लक्षणको स्वरुप हेरी आइसोलेसनमा राख्ने वा उपचारमा राख्ने निर्णय स्वास्थ्य मन्त्रालयले गर्ने केन्द्रीकृत र अव्यावहारिक निर्णय तत्काल फिर्ता गरी सम्बन्धित अस्पतालहरुले निर्णय गर्ने व्यवस्था गरियोस्।

१३. शैक्षिक वर्ष खेर नजाने गरी उच्च शिक्षा तहको परीक्षा वैकल्पिक विधि अपनाएर भए पनि सञ्चालन गरियोस्।