धनगढी – अछामका प्रकाश शाह, कैलालीका राजेन्द्र सिंह र मिलन रावलले संघीय राजधानी काठमाडौंमा कालिज फर्म संञ्चालन गरेका छन्। अध्ययनकै शिलशिलामा काठमाडौंमा बस्दै आएका उनीहरुले गत चैतदेखि व्यवसायीक रुपमा कालिज पालन सुरु गरेका हुन्।
जापान जाने तयारी गरेका उनीहरुले पटक पटकको प्रयास असफल भएपछि अर्थात भिसा नलागेपछि काठमाडौँमै कालिज पालन सुरु गरे। फर्म संञ्चालक मध्येका एकजना शाह कोरोना प्रभावका कारण अमेरिकामै छन् भने सिंह र रावल काठमाडौंमा फर्म संञ्चालन गरिरहेका छन्। विदेशमै रहेका शाहले काजिलको फर्म सञ्चालन गर्न सुझाव दिएपछि कालिज पालन सुरु गरिएको हो।
फर्म संञ्चालक सिंहले भने विदेश जाने योजना असफल भएपछि कृषिमा लाग्ने तयारी अनुसार कालिज फर्म संञ्चालन गरेपछि आम्दानी पनि राम्रो हुने देखिएपछि यसमा लागेको उनले बताए। जापान जाने सपनालाई त्याग्दै ८० लाखको लागनीमा संञ्चालन गरिएको फर्ममा दुई हजार कालिज राखिएको छ। कोरोना प्रभावकै बिचमा पनि एक सय भन्दा बढी कालिज बिक्री भएका छन्।
जसबाट मात्रै साढे तीन लाख भन्दा बढी आम्दानी भएको उनीहरु बताउँछन्। काठमाडौं, पोखरा लगायत स्थानबाट चल्ला ल्याएर आफ्नै फर्ममा हुर्काएर बिक्रि गरेपछि मनग्य आम्दानी गर्न सकिने विश्वास उनीहरुको छ। काठमाडौंको किर्तिपुरामा १५ रोपनी क्षेत्रफलमा खप्तड कालिज फर्म संञ्चालन गरिएको सिंहले बताए। उक्त फर्म उपत्यकाकै सबैभन्दा ठुलो रहेको दावी उनको छ।
‘फर्ममा राखिएका भाले कालिजहरु पाँच महिनापछि तीन हजार ५ सय भन्दा बढीमा बिक्रि गर्न सकिने देखिएको छ,’ फर्म संञ्चालक सिंहले भने, ‘पोथी कालिजहरु भने अन्य चल्ला उत्पादनका लागि राखेका छौं।’ कोरोनाको प्रभाव सकिने वित्तिकै फर्म संगै रिसोर्ट संञ्चालन गर्ने तयारी समेत भईरहेको छ। त्यसको केही समयमा नै उक्त फर्मको शाखा धनगढीमा समेत राख्ने दावी गरिएको छ। – दिनेशखबरबाट
प्रतिक्रिया