मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ वर्षअघि आजकै दिन भएको नेपाली क्रिकेट यात्रा !

२४ वर्षअघि आजकै दिन भएको नेपाली क्रिकेट यात्रा !

सुदूर आज

काठमाडौं । नेपाली क्रिकेटको इतिहास धेरै लामो छैन । नेपालले एक दिवसीय मान्यता पाउँदादेखि सन् २०१४ को विश्वकप खेल्दासम्मको इतिहास नेपाली क्रिकेटसँग छ । नेपाली क्रिकेट हाल जुन रुपमा स्थापित छ २४ वर्षे क्रिकेट विकासको रुपमा भने यो कम हो । नेपालसँगै क्रिकेट खेलेका र नेपालभन्दा पछि खेलेका राष्ट्रको क्रिकेट विकासको ढाँचालाई हेर्दा नेपाल धेरै पछाडि छ ।

सन् १९९६ सेप्टेम्बर ६ तारिखमा नेपालले पहिलो ऐतिहासिक क्रिकेट खेलेको थियो । नेपालले ६ तरिखमा पहिलो अन्तर्राष्ट्रि क्रिकेट खेल्दै आफ्नो क्रिकेट यात्राको सुरु गरेको थियो । नेपालले मलेसियामा आयोजित एसीसी ट्रफी प्रतियोगितामा बंगलादेशविरुद्ध खेल्दै आफ्नो क्रिकेट यात्रा सुरु गरेको थियो ।

कमजोर भौतिक संरचना, कम तयारी र उपयुक्त खेल माहोलविनै प्रतियोगिता सहभागिता जनाउन गएको नेपालले पहिलो खेल हारबाट सुरु गरेको थियो । उक्त समय नेपालका लागि हारभन्दा पनि देशमा सुरु भएको क्रिकेट माहोलले नै चर्चा पायो । नेपाल प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको थियो ।

प्रतियोगितामा १२ टिम सहभागी थिए । एसीसी ट्रफी सन् १९९६ मा नेपाल रहेको समूह ‘ए’ मा बंगलादेश, ब्रुनाई, फिजी, हङकङ र जापान थिए । प्रतियोगितामा अन्य सहभागी देशको क्रिकेट अवस्था र नेपालले सुरु गरेको समय तुलना गर्दा नेपाल प्रतियोगितामा कमजोर टोली थियो । प्रतियोगितामा कमजोर साबित भए पनि नेपाललाई सिक्ने वातावरण र नेपाली क्रिकेटमा एक नयाँ इतिहास रच्‍ने मौका भने मिल्यो ।

सन् १९९६ मा नेपाली टोलीको उप-कप्तानको जिम्मेवारी पाएर प्रतियोगिता खेल्न गएका खेलाडी एलबी क्षेत्री उक्त समयमा नेपालले सुरु गरेको ऐतिहासिक माहोललाई एक रमणीय क्षेणका रुपमा सम्झिन्छन् । “नेपालले उक्त समय खेलसँगै क्रिकेटको यात्र सुरु गरेको थियो । तयारी कम थियो । त्यो समयमा क्रिकेट खेललाई पनि त्यति महत्त्वपूर्ण खेलका रुपमा हेरिँदैन थियो,’’ बाह्रखरीसँगको कुराकानीमा क्षेत्रीले भने, ‘‘नेपालले क्रिकेट यात्रा सुरु गर्नु नै त्यो समयका लागि ठूलो कुरा हो । नेपाली क्रिकेटको सुरुवातदेखि हालको अवस्था हेर्दा जुन हिसाबले विकास हुनुपर्ने त्यो भएको छैन । नेपालभन्दा पछि क्रिकेट खेल्ने अफगानिस्तान हाल कस्तो अवस्थामा छ उसकै उदारण हेर्दा हुन्छ ।”

नेपालले हारबाट सुरु गरेको पहिलो खेलमा बंगलादेशले दिएको २१४ रनको लक्ष्य पछ्एको थियो । नेपालले ३९ ओभर २ बलमा पाँच विकेट गुमाएर ९० रन बनाएको थियो । त्यही क्रममा वर्षाले खेल रोकिँदा बंगलादेशलाई बढी रनरेटको कारण विजेता घोषित गरिएको थियो।

यस्तो थियो नेपालको पहिलो टिम
सन् १९९६ मा नेपालले पहिलो क्रिकेट प्रतियोगिता खेल्दा नेपाली १४ सदस्यीय टोलीको कप्तानी उत्तम कर्माचार्यले गरेका थिए । त्यस्तै टिमको उप-कप्तानको जिम्मेवारी क्षेत्रीले पाएका थिए । 

विकेटकिपर गणेश शाही, मनीषराज पाण्डे, सञ्‍जय गुरुङ, जगत टमाटा, राजु खड्का, किरण राणा, पुकार पन्त, वसन्त शाही, रितेश बराल, विशाल गुप्ता, मुसरफ इजहार र पवन अग्रवाल रहेका थिए । नेपाली टोलीको प्रशिक्षक सुनोज भट्टराईले गरेका थिए । – बारह्खरीबाट साभार