मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टीलाई प्रविधिमैत्री बनाउँछौं : कांग्रेस

पार्टीलाई प्रविधिमैत्री बनाउँछौं : कांग्रेस

"पार्टीको मुखपत्र ‘नेपाल पुकार’ लाई प्रिन्ट र डिजिटल माध्यमबाट प्रकाशन गर्ने सूचना, सञ्‍चार तथा प्रचार विभागको निर्णय"

सुदूर आज

पार्टीको मुखपत्र ‘नेपाल पुकार’ लाई प्रिन्ट र डिजिटल माध्यमबाट प्रकाशन गर्ने सूचना, सञ्‍चार तथा प्रचार विभागको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको सूचना, सञ्‍चार तथा प्रचार विभागले पार्टीलाई प्रविधिमैत्री बनाएर लैजाने निर्णय गरेको छ । विभागको शनिबार र आइतबार बसेको ‘भर्चुअल’ बैठकले पार्टीलाई प्रविधिमैत्री बनाएर लैजाने निर्णय गरेको हो ।

बैठकले कांग्रेसलाई सूचना, सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधिमैत्री बनाउँदै अघि बढ्ने अभियान सुरुवात गर्ने, ‘प्रविधिमैत्री अभियान’ को सुरुवातमा पार्टीको वेबसाइटलाई यथाशीध्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने निर्णय गरेको विभागका सचिव दिनेश थापा मगरले जानकारी दिए । उनले प्रविधिमैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त-दुरुस्त बनाउन कांग्रेसको विधानको धारा ३७ को (ज) बमोजिम विभिन्‍न उपसमिति गठन गर्ने पनि निर्णय भएको बताए ।

जस अनुसार बैठकले वेबसाइट संयोजन उपसमितिमा गोवर्धन राना मगर, छहारी संवाद संयोजन उपसमितिमा सुरेश आचार्य, प्रविधि संयोजन उपसमितिमा ई. दीपेश विष्ट, टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमितिमा नीर शाह, रेडियो नेटवर्क सूचना संयोजन उपसमितिमा गोपाल झा, नियमित सूचना सम्प्रेषण संयोजन उपसमितिमा दिनेश थापा मगरलाई संयोजक तोकिएको छ ।

प्रचार विभाग सार्वजनिक हुनुपूर्वदेखि आन्तरिक रूपमा क्रियाशील रहेको ‘कांग्रेस सूचना नेटवर्क’ मा विषयगत योग्यताका व्यक्तिहरु थप समावेश गर्दै विभागमा रहेका सदस्यहरुलाई प्रदेश स्तरीय र विषयगत जिम्मेवारी व्यवस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रचार विभागले विषयगत अध्ययन र अवधारणा निर्माण उपसमिति र सामाजिक सञ्जाल केन्द्रित उपसमिति गठन गरेर सामाजिक सञ्जालमा अभिव्यक्त हुने भावना र विचारलाई आत्मसात् गर्दै विभागको सार्वजनिक प्रस्तुतिलाई सैद्धान्तिक र व्यवहारिक कोणबाट सबल बनाउने निर्णय गरेको सचिव थापा मगरले जानकारी दिए ।

बैठकबाट कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर बढ्दै गएको अवस्थामा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणको गहनता राख्नुपर्ने आवश्यकता औंल्याउँदै जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका र सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ ।

उक्त उपसमितिमा नेपाल मेडिकल एसोसिएसनका पूर्वराष्ट्रिय अध्यक्षसमेत रहेका विभाग सदस्य डा. अञ्‍जनीकुमार झालाई संयोजक तोकेको छ । बैठकले विभागलाई कार्य गर्न प्राप्त छोटो समयलाई मध्यनजर गर्दै ‘न्यूनतम योजना तर दीर्घकालीन उपयोगिता’ को नीति अबलम्बन गरेर कार्य सम्पादन गर्ने निर्णय पनि गरेको छ । प्रचार विभागले पार्टीको मुखपत्र ‘नेपाल पुकार’ लाई प्रिन्ट र डिजिटल माध्यमबाट प्रकाशन गर्नेसमेत निर्णय गरेको छ ।