काठमाडौं । कोरोना संक्रमित सबैभन्दा धेरै हुने देशको सूचिमा दोस्रो स्थानमा पुगेको भारतमा कोरोना संक्रमण बढ्ने क्रम रोकिएको छैन । पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै ९० हजार ८०२ कोरोना संक्रमित थपिएका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ४२ लाख ४ हजार ६१३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा १ हजार १६ संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
हालसम्म भारतमा ७१ हजार ६४२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा दोस्रो स्थानमा रहेको भारत कोरोनाका कारण धेरै मृत्यु हुने देशहरुको सूचिमा भने अमेरिका र ब्राजिल पछि तेस्रो स्थानमा छ ।
लकडाउन टु लुजडाउनको नीतिमा गएपछि भारतमा तीव्र गति कोरोना संक्रमण फैलिएको हो । ९० हजार ६३२ कोरोना संक्रमित एकैदिन देखिने विश्वमै भारत मात्रै हो । अमेरिकामा एकैदिन सबैभन्दा धेरै ७४ हजार र ब्राजिमा ६९ हजारसम्म संक्रमित भेटिएका थिए ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा दैनिक ४५ हजार संक्रमित भेटिएका छन् भने ब्राजिलमा पछिल्लो २४ घण्टामा ३० हजार संक्रमित फेला परेका छन् । ब्राजिल र अमेरिकामा विस्तारै संक्रमण दर ओरालो लागिरहेका बेला भारतमा भने संक्रमण दर उकालो लाग्ने क्रम रोकिएको छैन । भारत १ अर्ब ३८ कराेड जनसंख्या भएको देश हो ।
प्रतिक्रिया