मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साथी तिमी शिखर चढ्नू !

साथी तिमी शिखर चढ्नू !


सँगै अघि बढ्यौ भने साथी बनूँला,
एक्लै शिखर चढ्यौ भने साक्षी बनूँला।

रविन्द्र सुवेदी – प्रिय साथी यो प्रेमको अनुराग हो। यो गुनासो होइन, तिम्रो प्रगति हेर्ने उत्कण्ठा हो। थाहा छ नि, हरक्षण हरकदम मेरा नजर तिम्रा पाइलामा हुन्छन्, तिम्रो ओठको मुस्कानमा हराइरहन्छन्। तिम्रो निधारमा देखिने थकानका बाछिटाबाट म कति धेरै विचलित हुन्छु?

तिम्रा पाइला भन्दा मेरा पाइला एक इन्च पनि अगाडि नहोऊन्, तिम्रा ओठमा मुस्कानको कुनै कमी नहोस्, तिम्रा आँखामा अफसोसको झप्की नलागोस् भन्ने मेरो कामना थियो र छ। म सधैं यही प्रतिज्ञामा छु। तिम्रा पैतालामा ठेस नलागोस्, तिम्रो गतिमा ‘ब्रेक’ नलागोस्। तिम्रा बाधा मेरा होऊन्। मेरा सफलता तिम्रा होऊन्। तिमी कहिल्यै झुक्न नपरोस्। झुक्नै परे पनि म भन्दा माथि नै होऊ। तिम्रो खुसीमा म रमाउन सकूँ। तिम्रो सफलतामा उफ्रीउफ्री ‘सेलिब्रेसन’ गर्न सकूँ। तिम्रो हाँसोमा मेरो खुसीको मुकाम भेट्न सकूँ।

हरेक कुरामा तिमी मभन्दा सफल होऊ। धेरै उचाइ होस् तिम्रो। तिमी भन्छौ– हामी बराबरी होऔं तर म भन्छु तिमी बढी होऊ, म कम हूँला। तिमी अघि लाग। म तिम्रो पछि लागूँला। तिमी राम्रो होऊ, म ठिक्क हौंला। मैले भन्दैमा, सोच्दैमा वा प्रार्थना गर्दैमा तिमी सबैथोक हुन त सक्दैनौ। तर म किन सोचिरहन्छु, त्यो तिमलाई थाहा छैन। त्यो मलाई नै थाहा छ, किनकि म तिम्रो असल साथी बनिरहन चाहन्छु। साथी अर्थात् तिम्रो र मेरो बराबरीको सम्बन्ध। बराबरी साथ, बराबरी लगाव, बराबरी प्रेम, बराबरी सद्भाव, बराबरी सपना, बराबरी सफलता।

पद, प्रतिष्ठा, इमान, जमान, खानपान, रहनसहन सबैमा बराबरी हुने कोसिस पनि गरौंला। बराबरी पढौंला, बराबरी बढौंला, बराबरी खेलौंला, बराबरी हाँसौंला, बराबरी रोऔंला। तर समयक्रमले तिमलाई र मलाई एउटा भयंकर असमानतामा लग्यो भने के गर्ने? बराबरी हुन, सँगै हुन, एउटै उचाइ चुम्न, एउटै भित्तामा अडेस लाग्न, एउटै छानामुनि रात काट्न, एउटै आहाराले छाक टार्न हामीलाई कसैले रोक्छ कि?

हो, निश्चित सीमासम्म रहेछ बराबरी हुने। एउटा कालखण्डसम्म बराबरी हुन सकिँदो रहेछ। एउटा उमेरसम्म बराबरी हुन सकिने रहेछ। तिमी र म दुवै समान उमेरको हुनु साथी हुनुको पहिलो मापदण्ड थियो। तिमी र म एउटै गाउँबस्तीको हुनु साथी हुनुको अर्को आधार थियो। तिमी र म एउटै कक्षामा पढ्नु, सँगैसँगै स्कुल पुग्नु, कोही एक्लो मान्छेलाई देख्दा सँगै जिस्काएर भाग्नु, उस्तै लुगाका लागि घरमा झगडा गर्नुदेखि एउटै क्याम्पस र एउटै विषय पढ्न उद्यत हुनु हाम्रो मित्रताका आधार, परिचय र समयक्रममा ‘बाध्यता’ थिए।

हाम्रा हरेक बिपनाका लागि हामी लड्दै–बढ्दै गयौं। एउटै सपना देख्न खोजेको, सँगै निदाउने कोसिस गरेको, एकअर्को ननिदाएको चियोचर्चो गरेको, तिमी ननिदाएकाले म निदाउन नसकेको गुनासो गरेको, यही गुनासोमा झगडा गरेको फेरि निदाउने र एउटै सपना देख्ने प्रयास गरेको। हामी बिहे नगर्ने है भनेको, बिहे गरिहाले पनि नछुट्टिने प्रण गरेको याद छ?

हाम्रा बाआमाका आँखाले देखेको हाम्रो फरक भविष्य, फरक सोच, फरक बसाइ र फरक गन्तव्यलाई हामी कति सहजै लत्याउन पनि पछि पर्दैनथ्यौं? तिम्रा र मेरा विचारमा पृथकता भेट्दा, तिम्रा र मेरा गुण र क्षमतामा फरकपन पाउँदा हामी कसरी सम्झौतामा पुग्थ्यौं त्यो पनि तिमलाई याद छ त? उमेर बढ्दै जाँदा, आकांक्षा र महत्त्वाकांक्षाका सीमाहरु तिम्रा र मेरा आँखाले फरकफरक दूरीमा ठम्याउँदा पनि हाम्रा भावनाले साझा पहिचान खोज्न कहिल्यै छाडेनन्।

हो, हरेक व्यक्ति सँगै सफल हुन सक्दैन। एउटा कक्षामा एउटै व्यक्ति प्रथम हुन्छ। नम्बर बराबरी आउला, उस्तै क्षमता होला तर गुरुहरुले ‘पक्षपात’ गरिदिएरै भए पनि एउटालाई प्रथम र अर्कोलाई दोस्रो जरुर बनाउँछन्। हेर्लान् केही गुणदोष, नजिक टाढा, अनुशासन, लगाव यावत् कुराहरु। हामीले भोगेको विगत पनि त त्यस्तै थियो नि होइन? कहिले म पहिलो भएँ तिमी दोस्रो कहिले तिमी पहिलो भयौ म दोस्रो। यो हाम्रो चाहना थिएन। बरु हामी पहिलो दोस्रो हुनुभन्दा धेरै पछाडि ‘सँगै’ हुन चाहन्थ्यौं। तर एउटै नम्बरमा तिम्रो र मेरो नाम कसरी राख्न मिल्थ्यो र! कि म अन्तिम हुन्थें कि तिमी अन्तिम हुथ्यौ।

एउटै पार्टीमा दुईटा अध्यक्ष हुन मिल्दो रैछ। दुईटा निर्देशक भएर कुनै संस्था चल्न सक्छ। एउटै श्रीमानका दुईवटा श्रीमती हुन सक्छन्। महाभारतमा द्रौपदीका ५ वटा श्रीमान एकै दर्जामा थिए, बराबरी समय, बराबरी माया, बराबरी भावनाको भागबण्डा गरिएको थियो। तर हेर न एउटै पार्टीमा दुईटा अध्यक्ष हुँदा पनि एउटै देशमा न दुईटा राष्ट्रपति बन्न सक्छन् न दुईटा प्रधानमन्त्री।

भन्न त सकिएला एउटै रथको दुई पांग्रा बनौंला। तिमी सोधौला– सिक्कामा दुईवटा नै पाटा हुने होइन र? तिमी भनौला– दुईवटा खुट्टाबिनाको शरीरको परिकल्पना सम्भव छ र? छैन। तर यी उदाहरण त आडम्बरको पराकाष्ठा मात्रै पो हुन् कि? अचेल त तिमी बेलाबेला परिबन्दको कुरा गर्छौ। ‘समयले के गर्छ हेरौं’ भन्दै एउटा अमूर्त सत्यलाई मेरो अगाडि बिछ्याएर तिमी मलाई उछिन्ने कसरतमा लाग्छौ। तिमी मबाहेकसँग मेरो सफलताको पगरी आफ्नो शिरमा बाँधिनुपर्नाका कारणहरुको फेहरिस्त लगाउँछौ। तिमी मेरो अनुपस्थितिमा ममाथिको ‘लगानी’ को हिसाब जोड्छौ भने मैले देख्ने समभावनाको सपनामा तिमी कहाँनेर ‘एउटै’ हुन सक्यौ?

तिमी मेरो सामुन्ने आफ्नो भिन्न रुचि, सोच र अपेक्षाको कुरा खुलेर राख्न हच्किन्छौ, तिमी आफ्नो दुःख लुकाउन र सुख देखाउन मसँग थुप्रै झुटको सहारा लिन्छौ भने हामी कसरी एउटै रथमा दुई पांग्रा भएर जोडिन सक्छौं? धेरै नजिक हुनु पनि, कसैसँग घनिष्ट मित्र हुनु पनि, ‘एउटै मित्रको पछि लाग्नु’ पनि राम्रो होइन रहेछ भन्ने परिभाषा बनाउँछौ भने तिमी कसरी असल मित्र बन्न सक्छौ?

के तिमी एउटा सिक्काको दुई पाटाका रुपमा रहन खोज्छौ? नजिककै भएर पनि कहिल्यै भेटिन नसक्ने सिक्काको पाटोझैं, सँगै भएर पनि कहिल्यै जोडिन नसकिने समानान्तर रेखाझैं, एउटै बहावबाट खिइँदै–खिइँदै अनन्त भासतर्फ गइरहेका नदीका दुई किनारझैं बस्नु पनि के मित्रता नै हो र?

तिमी टाउकाको उचाइ र शरीरको तौललाई मात्र बराबरी देख्ने, तिम्रा पैतालाहरुले कुल्चने माटोमा मात्रै समानता करार गर्न खोज्ने, तिमी मित्रकै कमजोरीमाथि प्रहार गर्न खोज्ने हो भने म तिम्रो मित्र हुनुको परिचय तिम्रा लागि सुखद पक्कै हुने छैन। भैगो, बरु तिमी शिखरको यात्रा सुरु गर, म सँगै जाऔंला। सँगै हो तर तिमीसँगै शिखर चढ्न होइन, तिमी शिखर चढेको साक्षी बन्न। तिमलाई साथ आवश्यक पर्छ भने साथी बनिदिऊँला, नत्र आफू मात्र शिखर चढेर सफलताको स्वाद लिनु छ भने पनि म फेदमा बसेर साक्षी बनूँला।

तिम्रा खुसीका सबै आयाम तिमीसँगै राख, स्वार्थपूर्तिका सयौं उपाय पनि मलाई नसिकाऊ। बस मलाई साथी भइरहन देऊ नत्र तिमी सफल भएको हेरिदिने कसले? तिम्रो सफलता चिन्न, रमाउन र साक्षी बस्न चाहिने पनि आखिर साथी नै होइन र ? – नेपालसमयबाट साभार