मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानलाई जनताको जीवन पद्धतिका रूपमा लिनुपर्ने : प्रधानन्यायाधीश

संविधानलाई जनताको जीवन पद्धतिका रूपमा लिनुपर्ने : प्रधानन्यायाधीश


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पाचौँ संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । 

प्रधानन्यायाधीश जबराले जारी गरेको शुभकामना सन्देशमा ऐतिहासिक संविधानसभाबाट निर्माण भई २०७२ साल असोज ३ गते जारी भएको नेपाली जनताको लामो समयदेखिको चाहना साकार भएको दिनको सम्झना र सम्मानमा विशेष दिनका रुपमा अर्थात् राष्ट्रिय पर्वका रूपमा मनाउने गरेको उल्लेख छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण लामो समयदेखि कठिन परिस्थितिको सामना गरिरहेका र न्यायपालिका लगायत राज्यका सबै अङ्ग र निकायका काम कारबाही यसबाट प्रभावित भएको उक्त सन्देशमा उल्लेख छ । आम नागरिकका संविधानप्रदत्त हक अधिकार र आधारभूत सुविधाको प्राप्ति एवम् न्यायको पहुँचमा कठिनाइ उत्पन्न भएको सन्देशमा भनिएको छ ।

संविधानलाई राज्य सञ्चालनको कानूनी दस्तावेज मात्र नभएर जनताको जीवन पद्धतिका रूपमा लिनुपर्ने मान्यताको विकास भएको र संविधानको प्रभावकारी कार्यान्वयन तथा नेपालको संविधानले प्रत्याभूत गरेका हक अधिकारको सुनिश्चितता गर्दै आम नागरिकको लामो समयदेखिको विकास र समृद्धिप्रतिको अभिलाषा पूरा गर्न एवम् सुशासनको अनुभूति दिलाउन राज्यका सबै निकायले आ–आफ्नो तहबाट योगदान गर्न सक्नुपर्ने सन्देशमा उनले उल्लेख गरेका छन् ।

संविधानवाद्, समानता र न्यायलाई यस संविधानले मूल आत्माका रुपमा ग्रहण गरेको र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने एवम् सामाजिक न्यायको सुनिश्चितता गर्ने उद्देश्य संविधानले लिएको सो सन्देशमा उल्लेख छ । – रासस