धनगढी– कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान फेरी सुरु गर्ने तयारी भएको छ। धनगढी–काठमाडौँ–धनगढी पनि असोज ५ गतेदेखि हवाइ उडान सुरु हुने भएको छ।
धनगढी विहानस्थलका प्रमुख तेजवहादुर बुढथापाले ५ गतेदेखि विमान कम्पनीले उडान भर्ने तयारी थालेको जानकारी दिए। ‘बुद्ध एयरले ५ गतेदेखि धनगढी–काठमाडौँ उडानका लागि तयारी अवस्थामा रहेको जानकारी दिएको छ,’ बुढ्पाथाले भने, ‘श्री एयरलाइन्सले भने केही दिन ढिलो गरी उडान भर्ने जानकारी दिएको छ।’
यसअघि धनगढी–काठमाडौ–धनगढी उडान भर्दै आएको नेपाल एयरलाईन्सले भने धनगढी विमानस्थलबाट आफ्नो काउण्टर हटाइसकेको विमानस्थल प्रमुख बुढथापाले बताए। उनका अनुसार केही समयपछि सौर्य एयरलाईन्सले भने फेरी धनगढीका लागि नियमित उडान भर्ने तयारी थालेको छ।
केही बर्ष अगाडिसम्म सौर्य एयरलाईन्सले धनगढीका लागि उडान भर्दै आएकोमा पछि बन्द गरेको थियो। विमानस्थल प्रमुख बुढथापाले धनगढी–बाजुरा उडान भने सुरु भईसकेको जानकारी दिए।
‘समिट एयरले बाजुराका लागि चाटर्ड उडान गर्दै आएको छ,’ बुढथापाले भने, ‘डोटी, बैतडी र बझाङ जिल्लामा पनि विमानस्थल निर्माण भएकाले केही दिनमै परीक्षण उडानको तयारी छ।’
स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान सुरू गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको थियो। कोरोना भाईरसको रोकथामका लागि चैत ११ गतेदेखि आन्तरिक हवाई उडान बन्द छ। अन्तर्राष्ट्रिय उडान भने यसअघि नै सर्तसहित खुलिसकेको छ।
प्रतिक्रिया