सुर्खेतमा नदीजन्य पदार्थबाट लाखमा ठेक्का लिएर करोडौं कमाउने गरेको खुलेको छ। जिल्ला अनुगमन तथा समन्वय समिति सुर्खेतले अनुगमनपछि करोडौंको ढुंगागिटी नदीमै संकलन गरी राखिएको पाइएको छ।
पवन कन्स्ट्रक्सन नामक कम्पनीले खहरेला, गमखोला र राते खोलाबाट ढुंगा गिटी झिक्ने ठेक्का नगरपालिकाबाट लिएको थियो। उसले भ्याटसहित ५२ लाखमा ठेक्का पाएको हो। उक्त कम्पनीले ४४ हजार घनमिटर मात्रै उठाउन पाउने भनिए पनि दुई लाख घनमिटरभन्दा बढी गिटीढुंगा बालुवा संकलन गरेर थुपारेको छ।
यो कम्पनीका सञ्चालक पवन गिरी भए पनि यसको मुख्य लगानीकर्ता र योजनकार कलाधर शर्मा ‘केदार’ हुन्। सेटिङमा भेरी एग्रोग्रेट स्याण्ड रिफाइनरी इन्डस्ट्रिज लेकबेशीसँग सम्झौता गरेर नदी किनारमै अवैध क्रसर उद्योगसमेत राखिएको छ। उक्त क्रसर उद्योग उनै उपाध्याय ‘केदार’ को नाममा दर्ता गरिएको छ।
पवन कन्स्ट्रक्सनले संकलन गर्ने र क्रसर उद्योगले पेलेर गिटी ढुंगा बालुवालाई बजार पठाउने काम गर्दै आइरहेको छ। शर्माको उद्योग बालुवा प्रशोधनका लागि मात्र दर्ता भएता पनि कम्पनीसँग मिलेर क्रसर उद्योग सञ्चालन गरी दुई लाख घनमिटरभन्दा बढी सामान थुपारिएको हो।सामान्यतया क्रसर उद्योग खोलाको पाँच सय मिटर नजिक राख्न पाइँदैन। तर यो उद्योग खोलाबाट तीस मिटरको दूरीमा सञ्चालित छन्।
यस्तै अर्का ठेकेदार विवेक कुमार थापाले न्यु देउती कन्स्ट्रक्सनको नाममा अघिल्लो वर्ष ठेक्का पाएका थिए। लेकबेशी नगरपालिकामा रहेको चिंगाड खोला र भेरी नदीको ठेक्का देउतीले एक करोड पाँच लाखमा पाएको थियो। उसले आइइई प्रतिवेदनअनुसार जम्मा ५७ हजार घनमिटर गिटीढुंगा बालुवा लिन पाउने थियो, तर उसले खोलामा ७३ हजार घनमिटर सामान थुपारेको पाइएको छ।
अन्य समान नदीबाट कति निकालेर कति बिक्री भयो भन्ने कुनै रेकर्ड छैन। देउतीले नदी किनारमै बालुवा प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ। ठेकेदार थापाले नगरपालिकामा तीन वटा कम्पनीको नाम पठाएका छन्। समितिले अनुगमन गर्दा प्रशोधन उद्योगमा बोर्ड पनि लगाइएको छैन।
नगरपालिकासँग समितिले विवरण माग्दा नगरपालिकाले थापाका नाउँमा रहेका तीन वटा प्रशोधन उद्योगको नाम दिएको थियो। लेकबेशीका सञ्चालक भुपेन्द्र थापा हुन्। देउतीका सञ्चालक गीता थापा छन् भने ठेगाना लेकबेशी १० उल्लेख छ।
यस्तै मनकामना बालुवा प्रशोधन उद्योग साटाखानी ८, लेकबेशी नौको नाममा दर्ता भएको छ। यसको सञ्चालकमा विवेक कुमार थापा छन्। यी उद्योगको बालुवा प्रशोधन गर्ने शुद्ध उद्देश्यका साथ दर्ता भएका छन्। तर अवैध रूपमा क्रसर उद्योग सञ्चालन गरी नदीजन्य पदार्थको दोहन भइरहेको छ। यसअघि सो उद्योगले कति समान निकालेर बेच्यो भन्ने कुनै रेकर्ड नै छैन। थाहा खबर
प्रतिक्रिया