मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानस्थलमा उडानको चाप बढ्दै

विमानस्थलमा उडानको चाप बढ्दै


काठमाडौं । बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका थिए ।

बन्दाबन्दी र निषेधाज्ञाको झण्डै पाँच महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित सङ्ख्यामा नियमित अन्तरराष्ट्रिय उडान भइरहेको छ । पीसीआर सहज भएका मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान, अन्य केही मुलुकबाट चार्टर्ड उडान तथा नेपाली श्रमिक भएका मुलुकबाट उद्धार उडान पनि भइरहेका छन् ।

अहिले अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक २० वटा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो संख्या भनेको दैनिक १० एयरलाइन्स आवतजावत हो । कोभिड–१९ महामारीबाट सुरक्षित रहनका लागि स्वास्थ्य प्रोटोकल पालना गर्दै अन्तर्राष्ट्रिय उडान भइरहेको छ ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले सातामा जम्मा सय अन्तर्राष्ट्रिय उडान हुन्छन् । सुरुमा नेपालका तीनसहित १२ अन्तर्राष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति लिएकामा पछिल्लो पटक सरकारले अन्तर्राष्ट्रिय उडान संख्या बढाउने निर्णय गरेसँगै थप दुई एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अमुमति पाएका छन् ।

असोज १६ देखि नियमित अन्तरराष्ट्रिय उडान सुरु भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अहिले नियमित, चार्टर्ड र उद्धार उडानसहित दैनिक १० वटाका दरले आगमन र प्रस्थान दुबै गरी २० उडान सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार यो संख्या भनेको विगत बन्दाबन्दीको अवधिमा गरिएको उडानकै हाराहारी हो । अहिले जनशक्तिलगायत सबैखाले व्यवस्थापनका हिसाबले दैनिक २० भन्दा बढी उडान सञ्चालन गर्न नसकिने महाप्रवन्धक केसीले बताए ।

सोमबारगतेदेखि आन्तरिक उडान पनि सञ्चालनमा आउने भएपछि अन्तर्राष्ट्रिय विमानस्थलको व्यस्तता अझ बढेको छ । स्वास्थ्य सावधानी अपनाएर सुरक्षित उडानका लागि जनशक्ति व्यवस्थापनदेखि स्रोतसाधनको उपलब्धतालगायत काममा विमानस्थल निकै व्यस्त हुनेछ ।

महाप्रबन्धक केसीका अनुसार अहिले भइरहेको अन्तरराष्ट्रिय उडानअन्तर्गत नियमित र चार्टर्ड उडानमा आउने यात्रुको पीसीआर रिपोर्ट नेगेटिभ भएमा सिधै घर वा गन्तव्य जान दिइन्छ । उद्धार उडानबाट आउने यात्रुले होल्डिङ सेन्टरमा जानुपर्ने हुन्छ । यो सबै व्यवस्थापनका लागि विमानस्थललाई निकै हम्मे पर्दै आएको विमानस्थल व्यवस्थापनले जनाएको छ । – रासस