मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल-२०२० बाट स्टार बन्न सक्छन् यी चार खेलाडी

आईपीएल-२०२० बाट स्टार बन्न सक्छन् यी चार खेलाडी


काठमाडौं– पृथ्वीबाट लामो दूरीमा देखिने आकाशीय पिण्ड हो– ‘तारा’ अर्थात् ‘स्टार’। कोही मान्छे कतिबेला तारा बन्छ भनेर कसैले सोध्यो भने उत्तर ‘मरेपछि’ भन्ने आउँछ। तर कोही मान्छे ‘स्टार’ बन्यो भन्नेबित्तिकै उसले उल्लेखनीय प्रगति गर्यो भन्ने मानिन्छ। एउटै वस्तुलाई जनाउने भाषाको फरकले त्यसको बुझाइमा पनि फरक पर्छ।

तर यहाँ हामी नेपाली भाषामा भन्दा बुझिने ताराको कुरा छोडेर अंग्रेजी भाषाको स्टारको कुरा गर्दैछौं। युनाइटेड अरब इमिरेट(यूएई)मा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा विगतको सिजनमा झैं यो वर्ष पनि युवा खेलाडी सहभागी बनेका छन्।

विश्वकै उत्कृष्ट र महँगो फ्रेन्चाइज लिग आईपीएलमा सहभागी बन्न पाउनु खेलाडीका लागि ठूलो उपलब्धि हुँदै हो। किनभने यसमा विश्वभरका उत्कृष्ट खेलाडी सहभागी बन्छन। यसकारण आईपीएल युवा खेलाडीका लागि विश्वमा परिचित हुने राम्रो प्लेटफर्म बन्दै आएको छ।

२०२० को आईपीएलबाट ग्लोबल स्टार बन्न सक्ने चार खेलाडीको चर्चा यहाँ हामी गर्दैछौं।

यशस्वी जयसवाल

यशस्वी जयसवाल गत फेब्रुअरीमा दक्षिण अफ्रिकाबाट जब यू–१९ विश्वकप खेलेर स्वदेश फर्किए, उनको एउटा ठूलो सपना पूरा भयो। उनको खेल प्रेरणा सचिन तेन्दुलकर थिए। र, तेन्दुलकरबाट उनी क्रिकेट सिक्न चाहन्थे।

उनी भारत फर्किएपछि तेन्दुलकर आफैं उनीसँग भेट गर्न आए र उनको तारिफ गरिदिए। आफ्ना स्टारले प्रेरणा भरिदिएका जयसवाल जारी सिजनमा राजस्थान रोयल्सबाट खेल्दै छन्।

राजस्थान रोयल्सले उनीमाथि धेरै भरोसा राखेको छ। उनले क्लबको भरोसा जित्न सके फाइदा क्लबलाई भन्दा धेरै उनलाई नै हुनेछ। यू–१९ विश्वकपको प्रदर्शन हेर्ने हो भने त उनको प्रदर्शन धमाकेदार हुनेछ।

गत जनवरी–फेब्रुअरीमा सम्पन्न विश्वकपमा उनको रन ८८, १०५, ६२, ५७, २९ र ५७ थियो। अर्थात् चार अर्धशतक र एक शतक। उनी वर्षकै सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका थिए। प्रभावशाली खेलका कारण स्टारहरुले भरिएको विश्वमा उनले स्थान बनाउन सक्ने आँकलन गरिएको छ।

रवि बिशनोई

पूर्व टेस्ट क्रिकेटर आकाश चोपडाले रवि बिशनोईलाई भारतका स्पिन जादुगर भनेका छन्। रविले यू–१९ विश्वकपको प्रदर्शन हेरेर चोपडाको कुरा अपत्यारिलो पनि लाग्दैन। उनले १७ विकेट लिँदै भारतलाई फाइनलसम्म पुर्याउन सहायोग गरे। भारत फाइनलमा बंगलादेशसँग पराजित भए पनि रवि प्रतियोगिताको महत्वपूर्ण खेलाडी रहे। उनी अहिले किंग्स इलेवेन पञ्जावबाट खेलिरहेका छन्।

प्रियम गर्ग

प्रियम गर्ग यू–१९ विश्वकपका टिम कप्तानसमेत हुन्। उनकै कप्तानीमा टिम विश्वकप फाइनलमा पुग्यो। जसमा उनको स्कोर उल्लेखनिय नभए पनि कप्तानी सिपको चर्चा राम्रो थियो।

मिडल अर्डर दायाँ हाते यी ब्याट्सम्यानले घरेलु क्रिकेटमा भने राम्रो छाप छोडेका छन्। उनी सनराइजर्स हैदराबादको टिममा छन्।

इतिहास हेर्ने हो भने यू–१९ का कप्तान विराट कोहली, पृथ्वी शाह, मोहम्मद कैफ, पार्थिव पटेलललगायत खेलाडीले भविष्यमा पनि राम्रो प्रदर्शन गरे।

कार्तिक त्यागी

रवि बिशनोईजस्तै कार्तिक त्यागी पनि सोही टिमका बलर हुन्। उनको बल स्विङ्गिङका लागि उमेर समूहको क्रिकेटमा प्रख्यात छन्।

उनले विश्वकपमा १३.९ को औषत राख्दै ११ विकेट लिए। उनी जारी सिजनमा राजस्थान रोयलको टिममा छन्। उनको टिममा उनीसँगै वरुण एरन र इंग्ल्यान्डका जोफ्रा आर्चर पनि छन्।

यूएईको स्लो पिचमा त्यागी टिमका लागि काम लाग्नेछन्। किनभने उनको बलिङमा स्पिड बदल्न सक्ने क्षमता छ।