मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छठलगत्तै त्रिविका सबै परीक्षा हुने

छठलगत्तै त्रिविका सबै परीक्षा हुने


काठमाण्डाै – त्रिभुवन विश्वविद्यालय त्रिविले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

त्रिविले विद्यार्थीलाई पायक पर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिइएको परीक्षा नियन्त्रण कार्यालय पनिकाका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। त्रिविले कोभिड–१९ का कारणले रोकिएका सबै परीक्षा छठलगत्तै गर्ने गरी दशैँ अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचारसमेत गरिसकेको छ ।

त्रिविले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्न सक्ने जनाएको छ । त्रिविले भौतिक दुरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था गर्ने छ । पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेस्टर परीक्षा लिने छ्न् ।

त्रिविका रजिस्ट्रार प्राध्यापक डाक्टर पेशल दाहालले स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए । दाहालले माघसम्म सबै परीक्षा सकाएर आगामी फागुन/चैतदेखि पढाइ सञ्चालन गर्ने तयारी रहेको जानकारी गराए ।

कोभिड–१९ का कारणले त्रिविका चैतदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित भएका छन् । अत्यन्तै न्यून भएका परीक्षा भने त्रिविले अहिले पनि भौतिक दुरी कायम राखेर सञ्चालन गरिरहेको छ ।