काठमाडौं । देबदत्त पाडिकल, एबी डिभिलियर्स र अरोन फिन्चको अर्धशतको मद्दतले १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले साविक विजेता मुम्बई इन्डियन्सलाई २०२ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरका लागि देबदत्त पाडिकल, एबी डिविलियर्स र अरोन फिन्चले अर्धशतकीय पारी खेले । ४० बल खेलेका पाडिकलले ५ चौका र २ छक्काको सहयोगमा ५४ रन बनाए । त्यस्तै ३५ बल खेलेका फिन्चले ७ चौका र १ छक्काको सहयोगमा ५२ रनको योगदान गरे ।
बैंगलोरका लागि एबी डिविलियर्स २४ बल खेल्दै ४ चौका र ४ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै शिभम डुबेले २७ रन बनाउँदा कप्तान विराट कोहलीले ३ रन मात्र बनाए । बलिङतर्फ मुम्बईका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिँदा राहुल चहारले एक विकेट हात पारे ।
बैंगलोरलाई आजको खेलमा सहज जितको अपेक्षा हुनेछ । गत सिजन खराब प्रदर्शन गरेको बैंगलोर यो सिजन भने उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई उपाधि दाबेदारका रुपमा प्रस्तुत गर्ने योजनामा छ ।
यता मुम्बई पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । साविक विजेता भएका कारण पनि यो सिजन मुम्बईका लागि हरेक खेल महत्त्वपूर्ण रहनेछन् ।
प्रतिक्रिया