मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. केसीलाई अनशन रोक्न सरकारको आग्रह

डा. केसीलाई अनशन रोक्न सरकारको आग्रह

सुदूर आज

काठमाडौं – सरकारले डा. गोविन्द केसीलाई अनशन रोक्न आग्रह गरेको छ। सरकारका तर्फबाट अनशनस्थल त्रिवि शिक्षण अस्पताल पुगेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोलीले यस्तो आग्रह गरेको हो। 

सचिव मैनालीको नेतृत्वमा तीन जनाको टोली त्रिवि शिक्षण अस्पताल पुगेको थियो। त्रिवि पुगेका शिक्षा सचिव मैनालीले सरकारका तर्फबाट औपचारिक रुपमा वार्ताटोली नबनेको जानकारी दिएको डा. केसीका सहयोगी प्रीतम सुवेदीले बताए।

डा. केसीले आफ्ना मागमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रुपमा वार्ता टोली गठन गर्नुपर्ने बताएर मैनालीको टोलीलाई फिर्ता पठाइदिएका छन्।  डा. केसी चिकित्सा शिक्षा सुधार र विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वनयको माग गर्दै विगत २३ दिनदेखि अनशनमा छन्।

सरकारले भने डा. केसीको माग सुनुवाइका लागि अहिलेसम्म कुनै प्रक्रिया अगाडि बढाएको छैन। विभिन्न दल, चिकित्सक लगायत पेसागत संगठन र नागरिक समाजले डा. केसीको मागप्रति ऐक्यबद्धता जनाइसकेका छन्।