मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर सक्रिय सङ्क्रमित २५ हजार नाघ्यो

देशभर सक्रिय सङ्क्रमित २५ हजार नाघ्यो

सुदूर आज

काठमाडौं । देशभरमा आज तीन हजार ४३९ सङ्क्रमित थपिएसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात  पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार ६८४ सङ्क्रमित थपिएको जानकारी दिए । 

उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा एक हजार २९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १४ हजार २०९ नमूना परीक्षण भएको थियो । हालसम्म ११ लाख १३ हजार ४८५ नमूना परीक्षण भइसकेको छ । 

देशभरमा पछिल्लो २४ घण्टामा एक हजार १२६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या जम्मा ६८ हजार ६६८ रहेको छ । यो जम्मा सङ्क्रमितमध्ये ७२ प्रतिशत हो । 
देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार १६४ रहेको छ । देशभर सक्रिय सङ्क्रमितमध्ये १० हजार ५९६ संस्थागत आइसोलेसन र १४ हजार ४११ होम आइसोलेसनमा रहेका छन् । 

प्रदेशअनुसार संस्थागत आइसोलेसनमा सक्रिय सङ्क्रमित प्रदेश १ मा ५४६, प्रदेश २ मा ३३३, बाग्मती प्रदेशमा सात हजार ९०८, गण्डकी प्रदेशमा ४४१, लुम्बिनी प्रदेशमा ८४२, कर्णाली प्रदेशमा ३५२ र सुदूरपश्चिम प्रदेशमा १७४ रहेका छन् । त्यस्तै होम आइसोलेनमा प्रदेश १ मा एक हजार ८४७, प्रदेश २ मा ५३०, बाग्मती प्रदेशमा नौ हजार १७२, गण्डकी प्रदेशमा ५६५, लुम्बिनी प्रदेशमा एक हजार ४७४, कर्णाली प्रदेशमा ३१५ र सुदूरपश्चिम प्रदेशमा ५०८ रहेका छन् । 

देशभरमा गरी २३३ सङ्क्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा २७, प्रदेश २ मा १४, बाग्मती प्रदेशमा १२७, गण्डकी प्रदेशमा छ, लुम्बिनी प्रदेशमा ४१, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा एक जना आइसियुमा रहेका छन् । त्यस्तै भेन्टिलेटरमा रहेका सङ्क्रमितको सङ्ख्या प्रदेश १ मा चार, प्रदेश २ मा दुई, बाग्मती प्रदेशमा २५ र लुम्बिनी प्रदेशमा छ गरी जम्मा ३७ रहेको छ । मन्त्रालयको कल सेन्टरमा पछिल्लो २४ घण्टामा ८९६ कल प्राप्त भएको पनि डा गौतमले बताए । 

प्रवक्ता डा गौतमले काठमाडौं उपत्यकालगायत देशभरमा सङ्क्रमितको सङ्ख्या दैनिक बढिरहँदा बिरामीले आफूलाई पायक पर्ने स्थानमा अस्पतालको शैय्या नपाउने अवस्था भएको बताए । उपत्यकामा पछिल्लो समयमा चुनौती अझै थपिरहेको उनको भनाइ छ । सार्वजनिक स्थानमा भीडभाड बढ्नु, मास्कको सही प्रयोग हुन नसक्नुलगायतका हाम्रो व्यवहारका कारण जोखिम बढ्दै गएको उहाँले औँल्याए । 

धेरै नागरिकले दशैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा कोरोना बिर्सिए जसरी घर बाहिर निस्कन थालेको उहाँले बताउनुभयो । कतिपयले सामान्य रुघाखोकी लाग्नासाथ अस्पताल गएको भन्दै उनले थप लक्षण देखिए मात्रै अस्पताल जान पनि सुझाव दिए । उनले भने, “सास फेर्न गाहे हुने, पिसाब फेर्न गाहे हुने वा पिसाब नै नहुने भएमा मात्रै अस्पताल जानुपर्छ ।” 

सात जिल्लामा बढी र तीन जिल्लामा शून्य सङ्क्रमित

बुधबारसम्म देशभरका ७७ जिल्लामध्ये सात जिल्लामा सङ्क्रमित ५०० बढी छन् भने तीन जिल्लामा शून्य रहेको छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही रहेका छन् । त्यस्तै सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मनाङ, मुस्ताङ र सोललुखुम्बु रहेका छन् ।  – रासस