कालिकोट जिल्लाको सान्नी–त्रिवेणी गाँउपालिका वडा नं। ४ स्थित स्याउलीबिसौली सुनार खोला तटबन्धन आयोजनाको भुक्तानी गर्दा एक लाखको घुस लेनदेन गरियो । करीव ३० लाख लागत रहेको उक्त आयोजनाका उपभोक्ता समितिका अध्यक्ष असोक शाहीले डिभिजन वन कार्यालयका करार वन रक्षक सर्पराज बुढालाई एक लाख रकम घुस दिए । उनले दिएको घुस रकम स्थानिय कमल शाहीले भिडियो खिचे । उनीहरुले योजनाबद्ध रुपमा वन रक्षकलाई पैसा दिए । असारमा योजनाको रकम भुक्तानी लिएर गाँउ फर्किए ।
पछि साउन महिनामा सान्नीत्रिवेणी गाँउपालिकाकै स्थानिय कमल शाहीले डिभिजन वन कार्यालयका कर्मचारीहरुलाई घुस लिएको भिडियो आफुसँग रहेको र दश लाख नदिए बाहिर ल्याईदिने धम्की दिए । उनले त्यसका लागि कृषि विकास कार्यालयमा कार्यरत कार्यालय सहयोगी तत्कालिन नेकपा माओबादीको जनमुक्ति सेनाका कमाण्डर चन्दबहादुर शाही पहाडलाई परिचालन गरे । उनले पटक पटक वनका कर्मचारीहरुसँग भेटघाट गरे । वनका कर्मचारीले उठाएर दश लाख दिएपछि कमल शाहीसँग रहेको भिडियो डिलिट गर्ने आस्वासन दिए । तर वनका कर्मचारीहरुले दश लाख रकम दिन नसकिने भनेपछि उनी अन्त्यमा ५ लाखसम्म घटे । त्यो पनि वनका कर्मचारीहरुले दिन सकेनन् । त्यसपछि उक्त कुरा सार्बजानिक भयो ।
जिल्ला कृषि विकास कार्यालयमा राजनीतिक पावरका आधारमा कार्यलय सहयोगी पदमा नियुक्त भएका पुर्व लडाकु पहाडले कृषि विकास कार्यालयका विभिन्न विकासी योजनाहरुमा पनि कमशन उठाउने काममा सक्रिय रहेकोे एक कर्मचारीले बताए । उनका अनुसार कार्यलय सहयोगी शाही भुक्तानी लिन आएका उपभोक्ताहरुसँग नजीक हुने मदीरा खाने र छिटो छरितो सहज काम गराईदिन्छु भनेर केही रकम पनि लिदै आएका थिए । उनी कृषि कार्यालयमा रहेर कार्यलयको काम भन्दा पनि बढी बाहिर डुल्ने, नेताको मान्छे हुँ भन्ने र ठगी गर्ने कार्य गर्दै आएका छन् ।
गत आर्थिक बर्षमा त्रिवेणीमा प्रदेश सरकारको बजेटमा निर्माण गरिएको धर्मशालाका उपभोक्ता समितिको अध्यक्ष समेत भएका कार्यलय सहयोगी शाहीले बजेट भुक्तानी लिएको भोली पल्टै भवन भत्किदा बिबादमा आएका थिए । उनी प्रदेश सरकारको आयोजनामा उपभोक्ता समिति पनि बन्छन् । कार्यालय सहयोगीको जागिर पनि खान्छन् ।
बिभिन्न कार्यालयका योजनाहरुमा उपभोक्ता समितिबाट कमिशन पनि खान्छन् । उनले डिभिजन वन कार्यालयका कर्मचारीहरुसँग वन रक्षकले घुस खाएको प्रहरी प्रशासनमा पनि जानकारी पुगिसकेकाले उनीहरुलाई पनि मिलाउन सकिने बताएका छन् । उनी गत साउनदेखी असोजसम्म निरन्तर वनका कर्मचारीसँग बार्गिनिङ गरिरहेका छन् ।
कृषि विकास कार्यालयका कार्यलय सहयोगी शाहीले आफुले कमल शाहीसँग रहेको भिडियो डिलिट गराउनका लागि सहयोग गरेको बताए । उनले भने, ‘जुम्लाका करार वन रक्षक बुढा आफ्नो जुवाई नाता पर्छन् । कमल शाहीले आफुसँग उनले घुस खाएको भिडियो छ भनेर भनेपछि उनलाई जोगाउन दुवै पक्षको सल्लाह अनुसार समन्वय गरिदिएको हुँ । मैले लाखौ रुपैयाको मागेको होईन् । दुर्व पक्षलाई मिलाउन मात्र खोजेको हुँ ।’ उनले आफुले कसैसँग पनि कमिसन नमागेको बताए । सामान्य रुपमा खाजा खाने कुरा आफन्तका हिसावले खाने गरेको बताए ।
स्याउली बिसौली सुनार खोला तटबन्धन निर्माण उपभोक्ता समितिका अध्यक्ष असोक शाहीले वन रक्षक बुढा र आफुबीच व्यक्तिगत कारोबार रहेको बताए । उनले भने, ‘हामीबीच पाँच बर्ष पहिलेदेखी चिनजान छ । सुर्खेतमा पनि सँगै घर छ । त्यसैले मैले
साथीसँग मागेको सहयोग फर्काएको हुँ । त्यसलाई भिडियो बनाएको भनेर रकम असुल्नु गलत हो । यो कार्य जसले गरे उनीहरु नै दोषि हुन् ।’ उनले आफुले स्टमेट अनुसारको काम गरी प्रक्रिया पुरा गरेर सबै रकम भुक्तानी लिएको बताए ।
डिभिजन वन कार्यालयका प्रमूख ललित कर्णले यस बिषयमा आफुलाई जानकारी नभएको बताए । उनका अनुसार सुरुवातमा ठेक्का प्रक्रियामा लिएको उक्त आयोजना वडा अध्यक्ष, स्थानिय सबैको आग्रहमा उपभोक्ता समिति मार्फत काम अगाडी बढाईयो । काम पनि राम्रै भएको छ । तर वन रक्षक र उपभोक्ता समितिबीच घुस लेनदेन भएको बिषयमा आफुलाई जानकारी छैन् । त्यो कुरा साच्चै पुष्टि भएमा कानुन बमोजिम कारबाही हुन्छ ।
यता घुस रकम लिने वन रक्षक बुढासँग सम्पर्क भएन । भिडियो रहेको भनिएका कमल शाहीले आफुसँगै कसैको पनि घुस रकम खाएको भिडियो नरहेकोे बताए । उनले भने, ‘मसँगै कोही कसैको भिडियो छैन् । कृषि विकास कार्यालयका कार्यलय सहयोगी चन्दबहादुर शाहीलाई मैले आफुसँग भिडियो रहेको भनेर वनका कर्मचारीसँग बार्गिनिङका लागि पठाएको पनि होईन् । उनले किन के आधारमा बार्गिनिङ गरे मलाई थाहा भएन् ।’ दुल्लु खबरबाट
प्रतिक्रिया