मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनःनिर्मित रानीपोखरी राष्ट्रपतिद्वारा उद्घाटन

पुनःनिर्मित रानीपोखरी राष्ट्रपतिद्वारा उद्घाटन

सुदूर आज

काठमाडौं । पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको आज उद्घाटन भएको छ। 

२०७२ सालको भूकम्पले पूर्णरूपमा क्षति भएको रानीपोखरी पुनःनिर्माण सम्पन्न भएपछि राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी हुन्। 
राष्ट्रपति भण्डारीले ताम्रपत्र अनावरण गर्दै रानीपोखरी उद्घाटन गरेकी हुन्। पाँच वर्षअघिको भूकम्पले भत्काएको रानीपोखरीको पुनःनिर्माण मौलिक शैलीमा गरिएको छ। 

उद्घाटनपूर्व राष्ट्रपति भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रानीपोखरीमा नेपाल तथा भारतका विभिन्न तिर्थस्थल तथा नदीको  जल चढाएका थिए। 

भूकम्पपछि पानीविहीन बनेको रानीपोखरीमा अहिले पानी भरिएको छ। पोखरी र मन्दिर क्षेत्रलाई बत्तीले सजाइएको छ। 

उद्घाटन भएसँगै यस वर्षदेखि तिहारमा सर्वसाधारणले रानीपोखरीका बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत दर्शन गर्न पाउने भएका छन्। 

सुरुमा काठमाडांँ महानगरपालिकाले पुनःनिर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म पुनःनिर्माणको काम अघि बढ्न सकेको थिएन। अन्ततः पुनःनिर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो। 

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन प्रताप मल्लले विसं १७२७ मा रानीपोखरीको निर्माण गरेको बताइन्छ। 

रानीपोखरीसँगै ऐतिहासिक दरबार हाइस्कूल अर्थात् भानु माध्यमिक विद्यालयको पनि उद्घाटन गर्ने कार्यक्रम छ।