मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैँमा बन्द भएको सुपको कोरोना परीक्षण पुनः आजदेखि सुरु

दशैँमा बन्द भएको सुपको कोरोना परीक्षण पुनः आजदेखि सुरु

सुदूर आज

धनगढीः दशैँमा बन्द रहेको कोरोना परीक्षण बुधबारदेखि पुनः सुरु गर्ने तयारी गरिएको छ । दशैँका दुई दिन प्रयोगशाला नै बन्द गरेका सुदूरपश्चिमका अस्पतालहरुले बुधबारदेखि परीक्षण थाल्ने भएका हुन् ।

दर्शैँका बेला समेत कोरोना परीक्षण जारी राख्ने व्यवस्था मिलाएको सेती प्रादेशिक अस्पतालमा पनि नमूना संकलन नहुँदा सोमबार र मंगलबार परीक्षण हुन सकेन । नमूना संकलन शून्यमा नझरेको भएपनि प्रयोगशाला सञ्चालन गर्न आवश्यक पर्ने न्यूनतम संख्या समेत नपुगेपछि रोकिएको परीक्षण बुधबारदेखि फेरी सुरु गर्ने अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए ।

आशिंक रुपमा परीक्षण बन्द गरेका पहाडी जिल्लाका अस्पतालले समेत बुधबारदेखि मात्र प्रयोगशाला सञ्चालन गर्ने भएका छन् । बैतडीको कोभिड–१९ सम्पर्क व्यक्ती भुवन प्रसाद जोशीले बुधबारदेखि पुनः परीक्षण र नमूना संकलनको काम थालिने बताए ।

सेती प्रादेशिक अस्पतालसंगै डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बैतडी, बझाङ, डोटी र अछामको कमलबजार नगरपालिकाले प्रयोगशाला सञ्चालन गर्दै परीक्षण गरिरहेका छन् । एउटा प्रयोगशालामा दैनिक १ हजार २ सय जनाको परीक्षण गर्न सकिने क्षमता छ ।

तर दशैँमा भने १ जनाको पनि सुदूरपश्चिममा परिक्षण हुन सकेन । स्वास्थ्य कार्यालय डडेल्धुराका कोभिड–१९ सम्पर्क व्यक्ती हरिप्रसाद भट्टले दशैँका समयमा आकस्मिक नमूना परीक्षण गर्ने भनिएपनि स्वाब संकलन नभएका कारण रोकिएको बताए ।

उनले बुधबारदेखि नमूना संकलन र परीक्षणको कामले गति पाउने बताए । सुदूरपश्चिममा दशैँपछि कोरोना संक्रमण बृद्धि हुने चिकित्सकले अनुमान गरेका छन् । अवस्था यकिन गर्न परीक्षणलाई तीव्रता दिनुपर्ने सुझाव दिईएको छ।