मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विवाद समाधान नभएपछि कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित

विवाद समाधान नभएपछि कांग्रेस केन्द्रीय कार्य समिति बैठक स्थगित


काठमाडौं । नेपाली कांग्रेसले शुक्रबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । बिहीबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकमा पार्टीमा जारी विवाद समाधानबारे सहमति नभएपछि बैठक स्थगित गरिएको हो ।

पदाधिकारी बैठकमा सहभागी केन्द्रीय सदस्य एनपी साउदले शुक्रबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेका लागि सारिएको जानकारी दिए । उनले शुक्रबारको बैठक पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोध पत्रमा केन्द्रित रहेको पनि बताए ।

नेता साउदकाअनुसार सभापति शेरबहादुर देउवाले छलफलका क्रममा विभाग गठनबाहेकका अन्य विषयमा सहमति गरेर आफू अगाडि बढ्न तयार रहेको बताएका छन् । यस्तै उनले पौडेल समूहले भनेझै १४ औं महाधिवेशनको मिति तय गर्न पनि आफू तयार रहेको बताएका छन् ।

“विभाग गठन भइसक्यो, साथीहरुलाई राखिसके । त्यो निर्णय फिर्ता हुन सक्दैन । बाँकी विषयमा मिलाएर गर्न सकिन्छ,” सभापति देउवाको भनाइ उद्धृत गर्दै नेता साउदले भने, “महाधिवेशनका नया तिथिमिति पनि तपाईं (पौडेल समूह)हरुले भने अनुसार नै गर्न तयार छु ।”

नेता साउदका अनुसार कांग्रेस पदाधिकारी बैठक शुक्रबार पनि जारी रहने छ । यसअघि गत सोमबार बसेको केही केन्द्रीय सदस्यसहित बसेको पदाधिकारी बैठकबिना निष्कर्ष टुंगिएको थियो । मंगलबार फेरि बस्‍न भनिएको पदाधकिारी बैठक भने प्रतिनिधिसभा सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा स्थगित भएको थियो ।

पौडेल समूहले सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै गत असोज १२ मा विरोधपत्र दर्ता गरेको थियो । कांग्रेसमा विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता(कार्यकर्ताहरुको समायोजन, भ्रातृ संस्थाको पदावधिलगायतमा विषयमा लामो समयदेखि विवाद छ ।