मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा भित्र संकटको घेरा कसरी ?

नेकपा भित्र संकटको घेरा कसरी ?

सुदूर आज

नेपाल कम्युनिष्ट पार्टी नेकपाका पाँच जना सचिवालय सदस्यले तत्कालै सचिवालय बैठकको लागि प्रधानमन्त्रीसँग लिखित माग गरे पछि बिवाद फेरी सतहमा आएको छ ।

केपी ओली, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष

पार्टी कमिटीका बैठक आवश्यकताअनुसार बस्छन् । कमिटीहरू बैठक बस्नका लागि नै हुन् । त्यसका लागि विधान, परम्परा र वैधानिक व्यवस्था छ । तपाईंहरू कहाँ–कहाँ बसेर बैठक बस्ने भन्दै गुटबन्दीको योजना बनाउनुहुन्छ, त्यस आधारमा त हुन्न नि १ पछिल्लो सचिवालय बैठकले एजेन्डामा समझदारी गरेर बैठक बस्ने निर्णय गरेको हो । बैठक कसरी सम्पन्न गर्ने भन्नेमा सहमति नभएसम्म बैठक हुन सक्दैन । समस्या बैठक नबसेर होइन, तपाईंहरूको गुटबन्दी हो । सरकार असफल पार्ने र पार्टी फुटाउने काममा लाग्नुभएको छ । ती समस्या हुन् । त्यसैले विवाद, गुटबन्दी र विघटनको बाटो छोड्नुस् । त्यसपछि सल्लाहबाटै बैठक भइहाल्छ । गुटबन्दी गरेर चलाउँछु भन्ने नठान्नुस् ।

पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष नेकपा
कार्यदलले बुझाएको प्रतिवेदन, स्थायी कमिटी बैठकको निर्णय तपाईंले कार्यान्वयन गर्नुभएन । मन्त्रिपरिषद् पुनर्गठन, राजदूत नियुक्तिदेखि अहिलेसम्म सबै काम एकलौटी गर्नुभो । तपाईंकै कारण कर्णालीमा समस्या थपियो । समस्यामाथि समस्या थपिएपछि मैले कैयौँपटक छलफल गर्दा तपाईं समाधानका लागि तयार हुनुभएन । बैठकमै छलफल गरौँ भन्दा गुटबन्दी गर्ने भन्दै अलग–अलग बाटो हिँडौँ भनेर पार्टी फुटाउने कुरा गर्नुभो । औपचारिक बैठक डाकेमा पार्टी फुटाउँछु भन्दै धम्की दिनुभयो । त्यसैले अनौपचारिक बैठक डाकेर साथीहरूसँग सल्लाह गरेर लिखितपत्र बुझाउन आएको छु । बालुवाटारमा सुरक्षाघेराभित्र बसेर यसलाई तपाईंले नै जालझेल र गुटबन्दी गर्ने अखडा बनाउनुभएको छ । उल्टै मलाई गुटबन्दीको किन आरोप लगाउनुहुन्छ ?

आ–आफ्नो समूहमा आन्तरिक तयारी र छलफल गरिरहेका नेकपाका दुवै समूह ‘पर्ख र हेर’को रणनीतिमा प्रवेश गरेका छन् । सोमबारसम्म ‘पर्ख र हेर’को चरण बनाउने र त्यसपछि एकले अर्काको कदम हेरेर अगाडि बढ्ने उनीहरूको पछिल्लो योजना छ । दुवै पक्षले एक–अर्काले पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका छन् । तर, सम्भावित दुर्घटनाको अपजस लिन नपरोस् भन्नेमा दुवै पक्ष सचेत देखिएका छन् ।

सचिवालयका बहुमत सदस्यको लिखित प्रस्तावलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले सीधै अस्वीकार गरेपछि नेकपा विवाद ४८ घन्टा अर्थात् दुई दिनसम्म ‘पर्ख र हेर’को चरणमा प्रवेश गरेको छ । तर, शनिबार रातिसम्म कुनै समूह पनि पछाडि हट्ने मनस्थितिमा छैन । योसँगै नेकपाको आन्तरिक विवाद निर्णायक चरणमा प्रवेश गरेको छ । अब कुनै पनि समूहले चाल्ने एउटा कदमले नेकपालाई भयानक संकटमा लैजाने खतरा जीवित नै छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत नेताले प्रधानमन्त्री ओलीलाई शनिबार दुई पेज लामो लिखित अनुरोधपत्र बुझाउँदै ४८ घन्टाभित्र सहमतिको औपचारिक बैठक बोलाउन आग्रह गरेलगत्तै नेकपाको आन्तरिक विवाद निर्णायक चरणमा प्रवेश गरेको हो । तर, अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले वैधानिक व्यवस्थाअनुसार सहमतिका आधारमा प्रस्ताव तयार नभएसम्म बैठक बोलाउनुको औचित्य नहुने जवाफ दिएका छन् ।

प्रचण्डसहितका शीर्ष नेताहरूको अनुरोधको कुनै प्रस्ट जवाफ नदिएपछि बैठक माग गर्ने नेताहरू ‘पर्ख र हेरको अवस्था’मा पुगेका छन् । एकपछि अर्को कदम चालेर असन्तुष्ट नेताहरूले आफूमाथि दबाब बनाइरहेको बुझाइमा रहेका ओली पनि प्रचण्ड–वरिष्ठ नेता माधवकुमार नेपाल समूहको आगामी कदम हेरेर अगाडि बढ्ने मनस्थितिमा छन् ।

बहुमतको औपचारिक बैठक बसे त्यही नै पार्टी फुटको बिन्दु र घोषणा हुने ओलीले चेतावनी दिँदै आएका कारण उनीहरूले लिखित अनुरोधपत्रको सुनुवाइ नभए कस्तो कदम चाल्ने भन्ने स्पष्ट पारेका छैनन् । यद्यपि उनीहरूबीच ओली सहमतिमा नआएको अवस्थामा बहुमतको सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक आयोजना गर्ने तहसम्मका अनौपचारिक छलफल हुँदै आएको छ ।

‘हामीले भोलि ९आइतबार० या पर्सि ९सोमबार०सम्म बैठक बसेर सबै विषयमा गम्भीरतापूर्वक छलफल गरौँ । एकताबद्ध बनाउने, विधि र पद्धतिका आधारमा पार्टी चलाउने र पार्टीको निर्णय सबैले मान्ने अवस्था सिर्जना गरौँ भन्नेमा जोड दिएका छौँ,’ पत्र बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।

सचिवालयका बहुमत सदस्यले गरेको लिखित आग्रहसमेत प्रधानमन्त्री एवं अध्यक्ष ओलीले नमानेको खण्डमा के गर्नुहुन्छ रु प्रवक्ता श्रेष्ठले अहिलेसम्म त्यसरी नसोचिएको बताए । ‘अब हामी त्यसरी सोच्दैनौँ । भएन भने के गर्ने भनेर सोच्ने यो वेला होइन । बैठकमा यो सम्पूर्ण विषयमा छलफल गरेर निष्कर्ष निकाल्नु आजको आवश्यकता हो भन्ने हामीले ठानेका छौँ,’ उनले भने ।

लिखित अनुरोधपत्र बुझाउनुअघि तयारीका लागि प्रचण्डसहित वरिष्ठ नेताहरू नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठले धुम्बाराहीमा केहीबेर छलफल गरेका थिए । त्यसलगत्तै उनीहरू ओलीलाई भेट्न बालुवाटार गएका थिए ।

बालुवाटारमा कार्यकारी अध्यक्ष प्रचण्डले लिखित अनुरोधपत्र बुझाउनुपर्ने अवस्था आउनुको पृष्ठभूमिमाथि केहीबेर प्रस्ट्याएका थिए । विवाद समाधानका लागि गठित कार्यदलको प्रतिवेदन स्थायी कमिटीले पास गरेपछि त्यसलाई कार्यान्वयन नगरिएको भन्दै प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिहरू एकलौटी गरिएको, बारम्बार छलफल गर्दा पनि बैठक बसाल्न नमानेर उल्टै पार्टी फुट्ने धम्की दिएका कारण अनौपचारिक बैठकमार्फत अनुरोधपत्र बुझाउन बाध्य भएको बताएका थिए ।

‘स्थायी कमिटीका कुनै पनि निर्णय कार्यान्वयन भएनन्, बरु एकपछि अर्को प्रधानमन्त्रीका कारण समस्या थपिँदै गयो, तपाईंले औपचारिक बैठक डाकेमा पार्टी फुटाउँछु भन्दै धम्की दिनुभयो । त्यसैले अनौपचारिक बैठक डाकेर साथीहरूसँगै आएको छु । बैठकको अनुरोध लिखित पत्र बुझाउने हाम्रो योजना थियो,’ छलफलमा प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने ।

प्रचण्डको यस्तो भनाइलाई प्रधानमन्त्री ओलीले बीचैमा प्रतिवाद गरेको सचिवालयका ती सदस्यले बताए । ‘बैठक बस्न नपाएकोजस्तो, बैठकै नबसेकोजस्तो, बैठकै नबस्ने भन्ने होइन । तर, समस्या त बैठक नबसेर होइन, तपाईंहरूको गुटबन्दी हो । सरकारलाई असफल पार्ने, पार्टी फुटाउने काममा लाग्नुभएको छ, त्यस्ता झेली खेल नखेल्नुस् । दिनका दिन तपाईंहरू कहाँ–कहाँ बैठक बसिरहनुभएको छ, कस्ता–कस्ता गोप्य बैठक, गोप्य सर्कुलर गर्नुभएको छ, ती चिज नै समस्या हुन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती सदस्यले नयाँ पत्रिकासँग भने, ‘त्यसैले तपाईंहरूले विवाद, गुटबन्दी र विघटनको बाटो छोड्नुस् । त्यसपछि त सल्लाहबाटै बैठक भइहाल्छ । तर, गुटबन्दी गरेर त्यसअनुसार चलाउँछु भन्ने नठान्नुस् ।’

ओलीले २६ भदौमा सम्पन्न स्थायी कमिटी बैठक, त्यसपछिको सचिवालय बैठक र पार्टी विधानमा दुई अध्यक्षको परामर्शले पहिले प्रस्ताव तयार भएपछि महासचिवले बैठक बोलाउने वैधानिक व्यवस्था भएको भन्दै आफू त्यसरी बैठक डाक्नका लागि भने तयार रहेको जवाफ फर्काएका थिए । ‘पार्टीका कमिटीका बैठकहरू स्वतः आवश्यकताअनुसार बस्छ । विवादको विषय नै होइन । तर, त्यसका निम्ति सल्लाह गर्ने हाम्रो विधान, परम्परा र वैधानिक व्यवस्था छ, त्यसअनुसार बैठक बस्छ । तपाईंहरू कहाँ बसेर बैठक बस्ने भन्दै गुटबन्दीको योजना बनाउनुभयो, त्यस आधारमा त बस्न सक्दैन,’ ओलीको भनाइ उद्धृत गर्दै ती सचिवालय सदस्यले भने, ‘स्थायी कमिटी बैठक, पछिल्लो सचिवालय बैठकले पनि एजेन्डामा सल्लाह गरेर, ठोस समझदारी गरेर र तयारी गरेर बैठक बस्ने भन्ने निर्णय गरेको हो । बैठकलाई कसरी सम्पन्न गर्ने विषयमा ठोस सल्लाह नभएसम्म बैठक हुन सक्दैन ।’

प्रचण्डले भने प्रधानमन्त्री ओलीले नै प्रधानमन्त्रीनिवास बालुवाटारलाई जालझेल गर्ने अखडा बनाएको आरोप लगाएका थिए । ‘तपाईं नै हो सुरक्षा घेराभित्र बसेर जालझेल गर्ने, गोप्य रूपमा गुटबन्दी गर्ने । बालुवाटारलाई तपाईंले राजनीतिक चलखेलको अखडा बनाउँदै आउनुभएको छ, अनि उल्टै मलाई किन दोष दिनुहुन्छ रु’

छलफलमा सहभागी अरू नेताहरूले पनि प्रधानमन्त्री ओलीकै व्यक्तिवादी कार्यशैलीका कारण पार्टीमा गम्भीर संकट उत्पन्न भएको भन्दै कम्युनिस्ट पार्टी सञ्चालनको विधिअनुसार बैठक राख्नुपर्ने ध्यानाकर्षण गराएका थिए । वरिष्ठ नेता नेपालले अहिलेसम्म भएका सबै कमजोरीप्रति पहिले आत्मालोचना गर्न सुझाब राखेका थिए । ‘अहिलेसम्म के कुनै कमजोरी भएको महसुस छैन रु तपाईंले कहिल्यै गल्ती गर्नुभएन रु के तपाईं सर्वगुणसम्पन्न मानिस हो रु पहिला आत्मालोचना गर्नुस्, धेरै साथीहरू किन आलोचना र विरोध गर्ने ठाउँमा पुगे होलान् सोच्ने गर्नुस् ।’ अर्का वरिष्ठ नेता खनालले पनि व्यक्तिवाद त्याग्न ध्यानाकर्षण गराउँदै आत्मालोचनाका लागि भए पनि छिटोभन्दा छिटो बैठक राख्नुपर्ने माग गरेका थिए ।

उपाध्यक्ष गौतमले गुटबन्दी गरेको प्रधानमन्त्री ओलीको आरोपको प्रतिवाद गरेका थिए । ‘तपाईंले दिनहुँ बालुवाटारमा बसेर छलफल गर्दा गुटबन्दी नहुने, हामीले पार्टीभित्रका समस्याबारे कुराकानी गर्नेबित्तिकै गुटबन्दी हुने रु पार्टीले कार्यकारी अध्यक्ष भनिसकेको व्यक्तिसँग छलफल गर्दा कसरी गुटबन्दी हुन्छ रु’ गौतमको प्रश्न थियो । गौतमले व्यक्तिवादी चिन्तन रहेको भन्दै ओलीको आलोचना गरेका थिए ।

छलफलमा प्रधानमन्त्री ओलीले प्रवक्ता श्रेष्ठले पार्टी पद्धति मिचेर गुटको प्रवक्ता बनेको आरोप लगाएपछि उनले आफूले जहिल्यै पनि पार्टी हितमा पार्टीकै लाइनअनुसार धारणा राख्ने गरेको भन्दै प्रतिवाद गरेका थिए । ‘आलोचना गर्दा विरोध गरेको ठान्नु कम्युनिस्ट प्रवृत्ति होइन । मुलुक यति गम्भीर अवस्थामा फसेका वेला बैठक डाक्नै नपर्ने, बैठकबारे जवाफ नै दिन नपर्ने तपाईंहरू कस्तो नेतृत्व हो रु’ श्रेष्ठको प्रतिवाद थियो, ‘पार्टीको हितमा लाइनअनुसार बोल्दा कसरी पार्टी पद्धति र सीमा मिचेको हुन्छ रु’ उनले आफूले अहिलेको समस्याको निकासका लागि दुवै अध्यक्षलाई लिखित पत्र बुझाउँदासमेत बैठक नडाकिएको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए ।

लिखित पत्रमा प्रधानमन्त्री ओलीमा व्यक्तिवाद हाबी भएको, स्थायी कमिटीका निर्णयलाई निरन्तर उल्लंघन गरेको, प्रधानमन्त्रीकै कारण कर्णाली प्रदेशमा समस्या उत्पन्न भएको, कोभिड– १९ महामारी नियन्त्रण गर्न नसकेको, पर्सामा पार्टी कार्यकर्ता हत्या हुँदा गुटगत संरक्षण गरेकोलगायत आरोप छन् । त्यस्तै, पत्रमा ओलीले पार्टी नेताहरूलाई समेत अपमान गर्ने शब्द प्रयोग गर्दै आएका विषय उठाइएको छ ।

तर, प्रधानमन्त्रीनिकट एक नेताले लिखित पत्रमा सहमति र एकतामा जोड दिनेभन्दा पनि प्रधानमन्त्रीले केन्द्रीय सदस्यलाई सडकछाप, स्थायी कमिटी सदस्यलाई हुल्डजबाज भन्यो भन्ने अरोप लगाएर घृणा र द्वेष फैलाउने, परिस्थितिलाई थप उत्तेजित बनाएर पार्टीलाई विभाजनतर्फ धकेल्न खोजेको आरोप लगाए । ‘पत्रमा उठाइएको विषय हेर्दा उहाँहरूले घृणा र द्वेष फैलाएर परिस्थितिलाई झन् उत्तेजित बनाएर पार्टीलाई विभाजनतर्फ नै लैजान खोजेको हो कि भन्ने प्रशस्तै आधार देखिएका छन्,’ प्रधानमन्त्रीनिकट स्थायी कमिटी ती सदस्यले भने ।-nayapatrikadaily