मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहारपछि सभापतिको उमेदवारी घोषणा गर्ने तयारीमा सुजाता कोइराला

तिहारपछि सभापतिको उमेदवारी घोषणा गर्ने तयारीमा सुजाता कोइराला

सुदूर आज

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरेकी छन् । जीपी कोइराला फाउन्डेसन अमेरिकाले सोमबार आयोजना गरेको भर्चुअल संवादमा उनले पार्टीको वर्तमान नेतृत्व परिवर्तनका लागि आशन्न महाधिवेशनमा सभापति पदमा लड्ने बताएकी हुन् ।

नेतृ कोइरालाले अहिलेसम्मको शैलीबाट पार्टी चल्न नसक्ने भन्दै आगामी दिनमा पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा जोड दिइन् । “पुरानै ढंगबाट पार्टी चल्न सक्दैन । अब नयाँ ढंगबाट पार्टीलाई अगाडि लिएर जानु पर्दछ,” उनले भनिन्, “त्यसका लागि हामीहरुले युवालाई, महिलालाई अत्याधिक रुपमा क्रियाशील (सदस्यता) दिनुपर्छ । उनीहरुको नेतृत्वलाई अगाडि बढाउनुपर्छ ।”

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको नाम नलिए पनि घुमाउरो शैलीमा पार्टी सञ्चालन गर्न नसकेको समेत आरोप लगाइन् । “माथिल्लो लेवलमा लिडरसिपको कमी पनि देखियो । यो मैलेमात्रै भनेको होइन । नेपाली कांग्रेसका यो सबैले महसुस गरिरहेका छन्,” उनले भनिन्, “विकास निर्माणको योजना, सोच र दृष्टिकोण केही छैन, यसरी पार्टी चल्छ ? प्रतिपक्ष हुँदा पनि काम गर्ने हो । सुतेर बस्ने होइन ।”    

पार्टीमा परिवर्तन ल्याउन र अहिले देखिएका अनुहारलाई परिवर्तन गर्न सक्छु भनेरै आफू सभापति पदमा उमेदवारी दिने तयारीमा जुटेको कोइरालाको भनाइ थियो । उनले बाह्रखरीसँगको संक्षिप्त कुराकानीमा मंगलबार उमेदवारीका विषयमा तिहारपछि औपचारिक रुपमा बोल्नेसमेत प्रतिक्रिया दिएकी छन् ।

“म सभापतिमा उमेदवारी दिन्छु भनेर भन्दै आएकी छु । हिजो (सोमबार) पनि एउटा जुम मिटिङमा आप्mनो उमेदवारीका विषयमा भनेकी थिएँ,” नेतृ कोइरालाले उमेदवारीका सम्बन्धमा बाह्रखरीले राखेको जिज्ञासाको जवाफ दिँदै भनिन्, “बाँकी कुरा अब तिहारपछि गरौंला । अहिले एउटै कुरा बारबार के भनिराख्नु ।”

कांग्रेसले १४ औं महाधिवेशन आगामी फागुन ७ देखि १० सम्म काठमाडौंमा आयोजना गर्ने घोषणा गरिसकेको छ । तर, कोभिड–१९ का कारण कांग्रेसले महाधिवेशनका लागि तयार गरेको कार्यतालिकाअनुसार कार्यसम्पादन भने गर्न सकेको छैन ।

महाधिवेशनको तयारीका बारेमा छलफल गर्न कात्तिक २७ गते कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएका कारण कांग्रेसले २४ गतेका लागि तय गरेको बैठक पछि सारेको छ । फाइल तस्बिर