मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेरो उपचार खर्च आफै बेहोर्छु : डा. केसी

मेरो उपचार खर्च आफै बेहोर्छु : डा. केसी


काठमाण्डौ – कोरोना सङ्क्रमित हुनुभएका डाक्टर गोविन्द केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने बताउनुभएको छ । डाक्टर केसीमा कोरोना सङ्क्रमण देखिएपछि शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँको स्वास्थ्य लाभको कामना गर्दै उहाँको उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको स्वास्थ लाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन डाक्टर केसीले आफ्नो उपचार खर्च आफै बेहोर्ने  र सरकारले बरु आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् भन्ने जवाफ दिनुभएको छ ।  

कोरोना सङ्क्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक रहेको र उनीहरुले अहिलेसम्म उपचार पाउन नसकेको भन्दै डाक्टर केसीले सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ भन्नुभएको छ । 

‘हामीसँग पटक–पटक गरिएका सम्झौता कार्यान्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए । साथै त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’, केसीले भन्नुभएको छ । उहाँले १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न पनि स्मरण गराउनुभएको छ ।