मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रत्येक ५ किमि दूरीमा बीओपी स्थापना गरिँदै

प्रत्येक ५ किमि दूरीमा बीओपी स्थापना गरिँदै


धनगढी । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बीओपी (सीमा सुरक्षा पोस्ट) स्थापना गर्न पहल गरिएको छ ।

सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्रका थप सात ठाउँमा बीओपी स्थापनाको पहल भएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलालीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र कुँवरले भारतसँग जोडिएको धनगढीको पुन्टै घाट र ललितपुर, कैलारी गाउँपालिकाको लठ्ठा घाट, भजनी नगरपालिकाको हलौना घाट, कालापातल र पगियापसर र टीकापुर क्षेत्रको कालाकुण्डमा थप बीओपी स्थापना गर्न लागिएको बताए ।

कैलालीको सीमा क्षेत्रमा हालसम्म १० देखि १२ किमिको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बीओपी छ । कैलालीको १०१ किलोमिटर लामो सीमा भारतसँग जोडिएको छ । सीमापारि भारतीय भूमिमा प्रत्येक पाँच किलोमिटरको दूरीमा त्यहाँको सीमा सुरक्षा बल(एसएसबी) को पोस्ट सञ्चालनमा रहेको जनाइएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक कुँवरले भने, “प्रत्येक पाँच किलोमिटरको दूरीमा बीओपी स्थापना गर्न सके सीमाको सुरक्षाका साथै चोरी, तस्करीजस्ता अवैध गतिविधि रोक्न थप प्रभावकारी हुनेछ ।” नेपाल सरकारले भारत र चीनसँग सीमा जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा ५०० जति बीओपी स्थापना गर्ने लक्ष्य राखेको जनाइएको छ । 

पछिल्ला महिनामा कैलाली जिल्लाको सीमा क्षेत्रमा हुने गरेको अवैध चोरी तस्करी नियन्त्रणको काममा विगतका वर्षको तुलनामा सफलता मिलेको जिकिर प्रहरी उपरीक्षक कुँवरले गरे । –रासस