मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घोडाघोडी तालमा पाहुना चरा आइपुगे

घोडाघोडी तालमा पाहुना चरा आइपुगे


धनगढी– कैलाली जिल्लाको घोडाघोडी तालमा पाहुना चरा आइपुगेका छन्। विश्व रामसार सूचीमा सूचीकृत  घोडाघोडी ताल क्षेत्र हरिहाँसका लागि प्रसिद्ध मानिन्छ।

जाडो छल्न र उपयुक्त आहाराको खोजी गर्दै साइबेरिया, मंगोलिया, उत्तरी चीनबाट पाहुना चरा आइपुगेका हुन्। हरेक वर्ष अक्टोबर महिनाको अन्तिमतिरबाट टाढाटाढाबाट पाहुना चरा यहाँ आउने गरेका छन्। 

घोडाघोडीमा जाडो याममा बसाइँ सरेर २९ प्रजातिका पाहुना चरा आउने गरेका छन्। यो वर्ष अहिलेसम्म कैलेटाउके हाँस, श्वेताँखीभौ, खडखडे हाँस, मरुल, ठूलो जलेवा, लघु राजपुत्रिका, चञ्चले, सुडसुडिया, रुख सुडसुडिया, टिमटिमा, वन सुडसुडिया, मसिनोठूँडे, टिमटिमा आइपुगेको चराविज्ञ हिरुलाल डगौराले बताए।

घोडाघोडीमा ६४ प्रजातिको जलपक्षी पाइने गरेका छन्। जसमध्ये केहि रैथाने हुन भने जाडो सिजनमा बसाइँ सरेर आउने चराहरु विभिन्न देशबाट आएका हुन। बसाइँ सरेर आएकामध्ये कैलेटाउके हाँस विश्वमै लोपोन्मुख प्रजाति हो।

‘यो बेला मङ्गोलिया, साइबेरिया र उत्तरी चीनमा अत्यधिक जाडो हुन्छ’, चरा विज्ञ डगौैराले भने, ‘त्यहाँ अत्यधिक जाडो सुरु भएपछि त्यहाँका चरा उपयुक्त बासस्थान र आहारा खोज्दै कैलालीको घोडाघोडी सिमसारसम्म आइपुग्छन् ।’

पाहुना चरा फागुन मसान्तसम्म यहाँ रहने गरेका छन्। डगौराले भने, ‘गर्मी बढ्न थालेपछि आगन्तुक चराहरु फेरि उतै फर्किने गरेका छन्।’

घोडाघोडी सिमसार क्षेत्रमा तीन सय ४२ प्रजातिको चरा पाईन्छन्। ‘यहाँ चराहरुको अवस्था सुधारोन्मुख छ’, डगौराले भन, ‘नयाँ प्रजाति थपिदैं गएका छन्।’

घोडाघोडी सिमसार जल र स्थल चराको लागि अत्यन्त उपयुक्त ठाउँ मानिदैं आए पनि प्राकृतिक बासस्थानको विनाशले चुनौती थपिएको छ। ‘जलपंक्षीका बासस्थानमा गडबडी आएको छ’, डगौराले भने, ‘स्थल पंक्षीको बासस्थान विनाश भइरहेको छ।’