मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १ करोड भन्दा बढीको सेनेटरी प्याड खरिद

अछाममा १ करोड भन्दा बढीको सेनेटरी प्याड खरिद


अछाम – जिल्लामा एक करोड भन्दा बढीको सेनेटरी प्याड खरिद गरिएको छ । अछामका दश स्थानीय तहहरुले एक करोड ६८ लाख २६ हजारको सेनेटरी प्याड खरिद गरेका छन् । संघीय सरकारको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको सशर्त अनुदानमार्फत अछाममा उक्त बजेट आएको हो । विद्यालयमा अध्ययनरत महिनावारी हुने छात्राहरुलाई प्याड वितरणका लागि बजेट आएको हो ।

छात्राहरुलाई विद्यालय नियमित गराउन र सुरक्षित महिनावारीका लागि विद्यालयमा प्याड वितरण गर्न थालिएको हो । प्याड वितरणका लागि पालिकाका उपप्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा शिक्षा शाखाका प्रमुख सदस्य सचिब रहने गरी ७ सदस्यीय सेनेटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन भएका छन् । 

साँफेबगर नगरपालिकामा गत आर्थिक वर्षमा २४ लाख,रामारोशन गाउँपालिकामा २३ लाख ९० हजार,मंगलसेन नगरपालिकामा २२ लाख २१ हजार, पञ्चदेवल बिनायक नगरपालिकामा २१ लाख ७० हजार, मेल्लेख गाउँपालिकामा १५ लाख ६० हजार, चौरपाटी गाउँपालिका १२ लाख ८४ हजार, कमलबजार नगरपालिकामा १७ लाख,बान्नीगढी जयगढ गाउँपालिकामा १२ लाख,ढकारी गाउँपालिकामा १० लाख ७ हजार र तुर्माखाँद गाउँपालिकामा १८ लाख ९४ हजार रकम प्याड खरिदका लागि आएको हो ।

मंगलसेन, ढकारी, बान्नीगढी जयगढ, मेल्लेख, कमलबजार, पञ्चदेवल बिनायक, रामारोशन, तुर्माखाँदले बितरण गरिसकेका छन् भने साँफेबगर र चौरपाटीले बितरण गरेका छैनन् । कोरोना कारण खरिद गरिएको सेनेटरी प्याड वितरण गर्न नसकिएको साँफेबगर नगरपालिकाका उपप्रमुख बिर्मला देबी बुडथापाले बताइन् ।

उनले भनिन्,’खरिद गरेर राखेका छौं,तिहार लगत्तै वितरण गर्ने छौं । मंगलसेन नगरपालिकाले प्याड खरिद नगरिकन विद्यालयको खातामा रकम पठाएको शिक्षा शाखा प्रमुख बताए । उनले भने ‘कार्यबिधि अनुसार विधालयको खातामा पैसा हालेका छौ, विद्यालयले आफै प्याड खरिद गर्नेछन् ।’

यो आर्थिक वर्षमा रकम बढेर २ करोड ३४ लाख ९४ हजार बजेट आएको स्थानीय तहका शिक्षा शाखाले जनाएका छन् । मंगलसेन नगरपालिकामा ३१ लाख ५७ हजार, बान्नीगढी जयगढ गाउँपालिकामा १७ लाख, कमलबजार नगरपालिकामा २४ लाख, मेल्लेख गाउँपालिकामा २१ लाख १० हजार, साँफेबगर नगरपालिकामा ३० लाख १५ हजार, रामारोशन गाउँपालिकामा २३ लाख, तुर्माखाद गाउँपालिकामा २२ लाख, ढकारी गाउँपालिकामा १७ लाख ७ हजार, पञ्चदेवल बिनायक नगरपालिकामा ३० लाख २२ हजार र चौरपाटी गाउँपालिकामा १८ लाख ८३ हजार बजेट आएको छ ।