काठमाण्डाै – आज वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावका कारण यी ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । पश्चिमी वायुकै प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका एक/दुई ठाउँमा दिउँसो सामान्य खालको पानी पर्ने सम्भावना छ ।
बाँकी ठाउँको मौसम आंशिकदेखि सामान्य खालको बद्ली हुने सम्भावना रहेको मौसमविद् बासीले बताए । राति वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा सामान्य बद्ली रही प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।
भोलिको मौसम पनि लगभग यस्तै रहन्छ । आज र भोलि देशभर नै पारिलो घाम लाग्ने सम्भावना छैन । पर्सिदेखि भने मौसम सुधार हुने उहाँले बताउनुभयो । यसैबीच आज बिहान साढे ६ बजेको काठमाण्डौको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ ।
प्रतिक्रिया