काठमाडौं– होम आइसोलेसनमा बसेका कोरोना संक्रमितलाई सरकारले मास्क, स्यानिटाइजरदेखि अक्सोमिटरसम्म वितरण गर्ने योजना अघि सारेको छ । कोरोनाबाट ज्यान गुमाएका मध्ये होम आइसोलेसनमा बसेका ब्यक्तिहरु धेरै रहेको पाइएपछि सरकारले स्वास्थ्य सामाग्री वितरण गर्ने तयारी गरेको हो ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको होम आइसोलेसनमा बस्ने संक्रमितलाई आइसोलेसन किट उपलब्ध गराउनेसम्बन्धी मार्गनिर्देशनअनुसार संक्रमितलाई १४ दिनलाई पुग्ने स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी भएको हो । जसअनुसार संक्रमितलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा दैनिक तीनवटाका दरले ४२ वटा र संक्रमित हेरचाह गर्ने व्यक्तिलाई ४२ वटा मास्क दिन लागिएको हो ।
त्यस्तै स्यानिटाइजर २ सय ५० एमएलको एक बोतल, थर्मोमिटर र ब्याट्री एक सेट, पल्स अक्सोमिटर र ब्याट्री पनि दिन लागिएको छ । थर्मोमिटर र अक्सोमिटर भने संक्रमित निको भैसकेपछि सफा गरेर स्थानीय स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई फिर्ता दिनुपर्नेछ । प्यासिटामोल ४२ चक्की, टिस्यू पेपर एक बट्टा, पन्जा एक प्याकेटसमेत पाउनेछन् ।
मन्त्रालयले विकास साझेदारहरुको सहकार्यमा केही पालिकामा हेल्थ आइसोलेसन किट वितरण गरेकामा नतिजा राम्रो पाइएपछि स्वास्थ्य मन्त्रालयले होम आइसोलेसनमा बसेका सबैलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने योजना बनाएको हो । यो योजनालाई केहि नीतिगत निर्णयसँगै कार्यान्व्यनमा लैजाने स्वास्थ्य मन्त्रालयको तयारी छ ।
प्रतिक्रिया