काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभाको क्रममा आज निर्वाचन सुरु भएको छ । देशभरबाट काठमाडौंमा आएका १ हजार ११६ जना मतदानले चुनावमा भाग लिइरहेका छन् ।
कोभिड १९ को बेलामा स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तीन ठाउँबाट मतदानको व्यवस्था गरिएको छ । जिल्ला नगरतर्फको प्रज्ञा प्रतिष्ठान, कमलादी, वस्तुगततर्फको महासंघ सचिवालय टेकु, र एसोसिएटतर्फको कार्की ब्याङ्केट बबरमहलमा मतदानको व्यवस्था गरिएको छ ।
महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मुख्य प्रतिनिधिहरुको अन्तिम सूची अनुसार एसोसिएट्स, द्धिराष्ट्रिय, वस्तुगत र जिल्ला नगरका गरी १ हजार ११६ संस्थाका प्रतिनिधिहरुले महासंघको नयाँ नेतृत्वका लागि मतदान गर्नेछन् ।
महासंघको निर्वाचन समितिले एसोसिएट्सतर्फ ९०४, द्धिराष्ट्रियतर्फ ६, वस्तुगत संघहरु १०१ र जिल्ला नगर उद्योग वाणिज्य संघका १०५ जनाले मतदानमा सहभागिता जनाउँदैछन् ।
वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित नयाँ कार्यकारी समिति सदस्य निर्वाचित हुनेछन् । वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । ढकालको टिममा जिल्ला नगर उपाध्यक्षमा गणनिधी तिवारी, वस्तुगततर्फको उपाध्यक्षमा उमेश लाल श्रेष्ठ, र एसोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई मैदानमा छन् ।
यसैगरी प्रधानको टिममा जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ र एसोसिएटतर्फको उपाध्यक्षमा सौरभ ज्योति छन् ।
प्रतिक्रिया