मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर चिसो बढ्यो : दिपायलको तापक्रम ६.२

देशभर चिसो बढ्यो : दिपायलको तापक्रम ६.२


काठमाण्डाै – देशभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकामा एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घटेको छ । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेकोमा आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियसमा झरेको छ ।

यो वर्ष जाडो सुरु भएयताकै काठमाण्डौमा कम तापक्रम हो । तापक्रम अझै घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोअस्ति राति बादल लाग्ने गरेकाले न्यूनतम तापक्रम त्यति धेरै घटेको थिएन । तर आज राति बादल नलागेकाले चिसो बढेको महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको थियो ।

जोमसोमको २ दशमलव २, जिरीको ४ दशमलव ५, ओखलढुङ्गाको ९ दशमलव ५, ताप्लेजुङको ८ दशमलव ५, दिपायलको ६ दशमलव २ र पोखराको १० दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो । अबको तीन दिन देशभरको मौसम सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव हटेर गएकाले अबको तीन दिन देशभर पानी पर्ने वा हिमपात हुने सम्भावना नभएको मौसमविद् पौडेलले जानकारी दिए ।