मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वर्तमान राजनीतिक परिस्थितीले मध्यावधि निर्वाचन माग्दैछ: पूर्वमन्त्री बलायर

वर्तमान राजनीतिक परिस्थितीले मध्यावधि निर्वाचन माग्दैछ: पूर्वमन्त्री बलायर


डोटी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं पूर्वमन्त्री वीरबहादुर बलायरले देशमा मध्यावधि निर्वाचन आवश्यकता परेको बताएका छन् । नेपाल प्रेस युनियन डोटी शाखाले शनिबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्बमन्त्री बलायरले यस्तो बताएका हुन् ।

झण्डै दुईतिहाई बहुमतसहितको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सरकार पूर्ण असफल भएको उनले बताए । उनले भने, ‘सरकार हरेक दृष्टिकोणबाट असफल भईसक्यो । यो हामीले मात्रै होईन्, सत्ताधारी पार्टीकै नेताहरु बताईरहेका छन् ।’ जनताले दिएको जनमतमाथि चरम खेलवाड गरिएको नेता बलायरले बताए ।

‘जनताले राजनीतिक अस्थिरताबाट आजित भएर स्थिर सरकारका लागि नेकपालाई दुईतिहाई दिएका हुन् । जुन म्याण्डेटअनुसार हामी(कांग्रेस) पूर्ण समय प्रतिपक्षमा छौ,’ उनले भने, ‘त्यो जनमतमाथि नेकपाले खेलवाड गरेको छ ।

ऐतिहासिक राजनीतिक वेईमानी र अपराध गरेको छ ।’ यस्तो परिस्थितीमा कांग्रेसलाई सत्ता सञ्चालनको निम्तो आउनुसमेत दुखद रहेको उनले बताए । ‘दुईतिहाईको निर्लज्जताले हामीलाई सत्तामा आउन निम्तो ग¥यो । योभन्दा जनमतकोे उपहास अर्को के हुन्छ ?’, उनले भने । देशको यस्तो विषम परिस्थितीमा कांग्रेस चुप लागेर भने नबस्ने नेता बलायरले बताए ।

‘लोकतन्त्रलाई बचाउन, समृद्ध गर्न नेपाली कांग्रेस सदैब तत्पर छ । देशको परिस्थितीले मागेको भूमिका निर्वाह गर्न तयार हुन्छ,’ उनले भने । नेकपाको आन्तरिक कलह, विकसित हुदै गएको परिस्थिती, सरकारको गैह्रजिम्मेवारी र संसदको अवस्था सबै दृष्टिकोणबाट मध्यावधि निर्वाचनको आवश्यकता देखिदै गएको पनि उनले बताए ।

‘कम्युनिष्टहरु देश चलाउन सक्दैनन भन्ने देखिईसक्यो । देशको अवस्थाले कांग्रेसको नेतृत्व माग्दैछ । तर संसदको स्वरुपले अवस्था जटिल छ,’ उनले भने,‘यस्तो अवस्थामा देशले फ्रेस जनादेश लिदा नै उपयूक्त हुन्छ ।’ यद्यपी नेकपाको जोडाई र फुटाईसंग कांग्रेसको कुनै भूमिका नरहेको उनले प्रष्ट्याए ।

उनले भने,‘कम्यूनिष्ट पार्टी मिलेर पुरै पाँचवर्ष सत्ता चलाओस् । देश र जनताको पक्षमा काम गरोस् । अनि त्यसपछिको आवधिक निर्वाचनमा आफ्ना कामहरु देखाउदै हामीसंग प्रतिस्पर्धा गरोस भन्ने हाम्रो चाहना हो । यसले लोकतन्त्र बलियो हुन्छ ।’ नेपाल प्रेस युनियन डोटी शाखाका अध्यक्ष प्रकाश बमको अध्यक्षता पत्रकार सम्मेलन भएको थियो।