मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकतन्त्र अपमानित भएको छ : कांग्रेस वरिष्ठ नेता पौडेल

लोकतन्त्र अपमानित भएको छ : कांग्रेस वरिष्ठ नेता पौडेल


काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका कांग्रेस नेता रामचन्द्र पौडेल रिहा भएका छन् । तनहुँमा आज दिउँसो कार्यकर्तासहित नियन्त्रणमा लिइएका नेता पौडेललाई रिहा गरिएको हो । रिहा भएपछि नेता पौडेलले लोकतन्त्र अपमानित भएको बताएका छन् । “आज जे भइरहेको छ । यसको देशभर विरोध भइरहेको छ,” उनले कार्यकर्ता र सञ्चारकर्मीहरुलाई संबोधन गर्दै भनेका छन् । 

उनले आफूलाई लाठीले पेलेर बोल्नै नसक्ने बनाएको जानकारी दिएका छन् । वरिष्ठ नेता पौडेलसँगै कांग्रेस तनहुँका कार्यबाहक सभापति जितप्रकाश आलेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पुलको उद्घाटन गर्न जाने क्रममा तालघारीबाट पौडेलसहितका नेतालाई फिर्ता गरेर सदरमुकाम ल्याइएको थियो । पौडेललाई प्रहरीले जबर्जस्ती नियन्त्रणमा लिइएको थियो । पौडेलले फेसबुक स्टाटस लेखेर आफूलाई प्रहरीले हिरासतमा लिएको जनाएका थिए । 

झडप हुनसक्ने भन्दै तनहुँमा जिल्ला प्रशासन कार्यालयले मध्यान्ह १२ बजेदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी सागर न्यौपाले निषेधाज्ञा जारी गर्नुपूर्व दमौलीमा नेकपा तनहुँ र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन र नाराबाजी गरेको भन्दै निषेधाज्ञा जारी गरेको बताएका थिए ।

व्यास नगरपालिकामा मोटरेबल पूल निर्माण भएको र त्यसको उद्घाटन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने भनेपछि विवाद सुरु भएको थियो । पौडेल पक्राउ परेपछि सरकारको चौतर्फी आलोचना भएको थियो ।