मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाको ओलीलाई प्रश्न– सुरक्षाका लागि समातेको भए पौडेललाई घरमा नलगेर किन चौकीमा लगेको ?

देउवाको ओलीलाई प्रश्न– सुरक्षाका लागि समातेको भए पौडेललाई घरमा नलगेर किन चौकीमा लगेको ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउको विषयमा प्रधानमन्त्री केपी ओलीसँग आक्रोश व्यक्त गरेका छन् । बुधबार तनहुँमा एक पुल उद्घाटन गर्न जान लागेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

सभापति देउवाले प्रधानमन्त्री ओलीलाई बुधबार दिउँसो टेलिफोन गरेको उनका स्वकीय सचिव भानु देउवाले बताए ।  टेलिफोनमा देउवाले वरिष्ठ नेता पौडेल पक्राउको कारण सोधेका थिए ।  जवाफमा प्रधानमन्त्री ओलीले झडप हुने अवस्था देखिएकाले शान्ति सुरक्षाका लागि पौडेललाई नियन्त्रणमा लिइएको जवाफ दिएका थिए । 

ओलीको जवाफमा प्रतिप्रश्न गर्दै देउवाले भनेका थिए, “शान्तिसुरक्षाको लागि भए उहाँ (पौडेल)लाई किन उहाँको घर नलगेको ? किन चौकी लगेको ?” तत्काल नेता पौडेलको रिहाइ गर्न पनि उनले प्रधानमन्त्री ओलीलाई भनेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

बुधबार दिउँसो ब्यास नगरपालिकामा नवनिर्मित पूल उद्घाटनका लागि पौडेल गएका थिए ।  सो क्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताहरुले अवरोध प्रयास गरेका थिए । 
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नै जारी गरेको थियो । 

तर, पौडेलले सत्ताको दुरुपयोग गर्दै कार्यक्रम बिथोल्ने प्रयास भएको भन्दै जिल्ला प्रशासनको निषेधाज्ञा खारेज गर्ने भन्दै पुल उद्घाटन गरेरै छाड्ने बताएका थिए ।  कार्यकर्तासहित पुल उद्घाटनका लागि जाँदै गर्दा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको हुँदा कांग्रेस नेताले नै उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर पौडेललाई बोलाए पनि नेकपाका कार्यकर्ताले पौडेललाई पूल उद्घाटन गर्न दिन नहुने माग गर्दै विरोध जनाएका थिए ।