- गोविन्द अधिकारी
नैनबहादुर स्वाँरलाई मैले चिन्दा उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । म तनहुँको एउटा गाउँ पञ्चायतको उपप्रधानपञ्च थिएँ । चिनेको भन्न पनि नमिल्ला । तनहुँका राष्ट्रिय पञ्चायत सदस्य उमाभद्र खनालसँगै म उनको कार्यकक्षमा पुगेको थिएँ । सिंहदरबार, ग्यालरी बैठकसँगैका काठे घरमा अध्यक्षको कार्र्यालय थियो । कतै काम परेर जाँदा फुर्र्सद हुनेबित्तिकै उमाभद्र जीले मलाई पनि स्वाँरको कार्यकक्षमा लैजान्थे । सँगै गएपछि मेरो परिचय पनि उनैले दिन्थे । कहिले कहीँँ त मलाई नै लाज लाग्ने गरी प्रशंसा गरिदिने । यही क्रममा स्वाँर जीको कार्यालयमा जाँदा उनका कुरा सुन्ने गरेको हो ।
त्यतिबेला राष्ट्रिय पञ्चायतका १२ जना सदस्यहरूको एउटा गुट अलि बढी नै विद्रोही देखिन थालेको थियो । अध्यक्ष स्वाँर पनि यिनीहरूको पक्षमा थिए । उमाभद्र खनाल, मुक्तिलाल चुके, पेसलकुमार पोखरेल, रामध्वज खड्का, भद्रा घले, गणेशबहादुर खत्री, आङ दण्डी लामा आदि थिए त्यस समूहमा । उनीहरू पञ्चायतमा बालिग मताधिकारका आधारमा चुनाव र राष्ट्रिय पञ्चायतप्रति उत्तरदायी प्रधानमन्त्रीजस्ता सुधारका पक्षमा थिए । पञ्चायतभित्रको गुटबन्दीको झल्को मैले त्यति बेलै यिनीहरूकै संगतबाट पाएको हो । स्वाँर जीको कार्यकक्ष यही समूहले प्रायः कब्जा गर्थ्यो ।
उनलाई भेट्न विदेशी पाहुना प्रायः आइरहन्थे । पाहुनाका लागि भनेर ल्याएको मिठाइ उब्रिँदो रहेछ । त्यो मिठाइ अध्यक्षले साथीहरूलाई खुवाउँदा रहेछन् । त्यही लहरोमा दुई चारपटक म पनि मिठाइ खाने लहरमा परेको थिएँ । परराष्ट्र मन्त्रालयको अतिथि सत्कार विभागबाट आउने ती मिठाइ बजारमा पाइनेभन्दा धेरै मीठा हुन्थे । एक दिन हामीहरू पुग्दा विदेशी पाहुनाका लागि ल्याएको मिठाइ सकिएछ । उमाभद्र जीले अध्यक्षले मिठाइ त खुवाउनै पर्छ भन्न थाले । अनि स्वाँर जीले बजारमा किन्न पठाए । शीतल निवासबाट आउनेजस्तो किन हुन्थ्यो ? यसरी झुक्याउने भन्दै उमाभद्र जीले स्वाँरको सातो खाए । नैनबहादुर जी रिसाएनन् । हाँसेर टारे ।
त्यसपछि लामो समयसम्म नैनबहादुर जीसँग भेट हुने कारणै भएन । जनमत संग्रहपछि सम्पन्न राष्ट्रिय पञ्चायतको सदस्यको निर्वाचनपछि सूर्यबहादुर थापाको अध्यक्षतामा गठित मन्त्रिपरिषद्मा नैनबहादुर स्वाँर शक्तिशाली गृहमन्त्री भए । तनहुँ जिल्ला पञ्चायतमा निर्वाचित भएपछि फेरि सरकारी मानिसहरूसँगको सम्बन्ध बढाउनु पर्ने भयो । तनहुँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)ले सामान्य जनतालाई मात्र हैन हामी निर्वाचित जनप्रतिनिधिलाई पनि हेप्ने र जानीजानी सताउने गर्थे । सीडीओको तालुकवाला मन्त्रीका हैसियतमा हामी गृहमन्त्रीकहाँ पुग्यौँ सरुवाको माग गर्दै । उनले हामीलाई सहानुभूति त देखाए तर आश्वासन दिएनन् । प्रधानमन्त्री थापाको जिल्ला धनकुटाका सीडीओ श्रीभगवान सिंहलाई सरुवा गर्न खोज्दा पनि नसकेको र दरबारकै इच्छाबाहेक अरूबाट केही नहुने खुलासा भने गरे ।
यही क्रममा भ्रष्टाचारको आरोपको एउटा रमाइलो कथा उनले सुनाएका थिए । जनमत संग्रहका बेला अछामको कुनै गाउँमा घोडेटो बाटाका लागि एक लाख रुपियाँ निकासा भएछ । बाटो निर्माण समितिको अध्यक्ष स्वाँरलाई नै बनाएछन् । बाटो समितिका नाममा खाता खोलेर लाख रुपियाँको ड्राफ्ट जम्मा गरेछन् । जनमत संग्रह, निर्वाचन आदिको व्यस्ततामा बाटो बनाउने कुरा हराएछ । अनि काठमाडौंमा पत्रकारले थाहा पाएर स्वाँरले लाख रुपियाँ भ्रष्टाचार गरे भनेर समाचार छापेछन् । दरबारबाट सोधनी हुँदा त स्वाँर झसंगै भएछन् । तुरून्तै सीडीओलाई त्यसको विवरण पठाउन भन्दा बाटो समितिको खातामा ९९ हजार मौज्दात रहेको जानकारी आएछ र दरबारमा जाहेर गरेछन् ।
तनहुँ जिल्ला सभाले २००७ सालमा बन्दिपुर कब्जा गर्ने क्रममा राणाका सिपाहीको गोली लागेर मारिएका सहिदहरूको स्मारक उनीहरूको समाधीस्थल बन्दिपुर टुँडिखेलमा निर्माण गर्ने निर्णय गरेको थियो । (अहिले यो स्मारक बनिसकेको छ । बन्दिपुर जानेहरूले रुचि भए टुँडिखेलमाथि हेर्न सक्छन् ।) कम्युनिस्ट समर्थक र ‘खाँटी पञ्च’हरूले त्यसको विरोध गरेका थिए । त्यस्ता संरचना बनाउन सरकारको स्वीकृति लिनुपर्थ्यो । त्यही स्वीकृतिका लागि गृहमन्त्रीसँग अनुरोध गरियो । उनले त ठाडै दिन्न भनिदिए ।
हामीले देशबाट राणा शासन हटाउँदा मारिएकाहरूलाई काठमाडौंमा त्यत्रो सम्मान दिन हुने बन्दिपुरमा किन नहुने भनेर जिरह गर्दा स्वाँरले भनेका थिए— त्यहाँ बनाउन दिए अरू ठाउँमा पनि त्यस्तै क्रम सुरु हुन्छ । राजनीतिक पहुँच हुनेहरूले जोसुकैको पनि बनाउन थाल्छन् । अनि पुलिससँग मुठभेडमा मारिएका डाँकाहरूको पनि सालिक ठडिनेछ । स्वीकृति नपाउने भएपछि रिस उठेको थियो । अहिले सहिदका नाममा गरिएको राज्यको ढुकुटीको दोहन र सहिद मानिएका अपराधीहरूको सूची हेर्दा पो नैनबहादुर स्वाँर सही रहेछन् भन्ने लाग्यो ।
स्वाँर जीप्रति हार्दिक श्रद्धाञ्जलि !
प्रतिक्रिया