मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द

मध्यपहाडी लोकमार्ग दैनिक साढे तीन घण्टा बन्द


निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गको पर्वतखण्ड विस्तार गर्न दैनिक साढे तीन घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा आज बसेको सर्वपक्षीय बैठकले लोकमार्गको अप्ठेरो भिरमा कटान गर्नका लागि यही मङ्सिर २१ गते आइतबारदेखि दुई हप्ताका लागि सडक बन्द गर्ने निर्णय गरेको छ ।

लोकमार्गको कुश्मा नगरपालिका–७ खरेहादेखि वडा नं ८ को दोबिल्लाबीचको भिरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम गर्ने निर्णय बैठकले गरको छ  । सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म सडक बन्द निर्णय गरिएको  कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।  

सडकखण्डमा अहिले धमाधम काम भइरहेको छ । लोकमार्गको झण्डै ७० प्रतिशत काम सम्पन्न भएको छ । खरेहा र चुवाको भीर तथा चुवादेखि दोबिल्लाबीचको दूरीमा रहेको भिरमा कडा चट्टान फुटाउन बाँकी रहेकाले सडक बन्दनै गरेर निर्माण अघि बढाउन लागिएको हो । 

सडकमा सवारीको चाप बढ्दै गएकाले काम गर्न समस्या पर्ने हुँदा आवतजावत नै रोकेर निर्माण गर्न थालिएको सडक निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले जानकारी दिए । आयोजनासँग ३६ महिनामा निर्माण काम सक्ने गरी सम्झौता भए पनि गत भदौमा सम्झौता अवधि सकिसकेको छ । कोभिड–१९ का कारण झण्डै सात महिनादेखि रोकिएको काम गत असोजको दोस्रो सातादेखि शुरुआत भएको थियो । रासस