मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८८४८.८६

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ ८८४८.८६


काठमाडौं । सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर रहेको नयाँ तथ्य सार्वजनिक भएको छ । यो नयाँ उचाइ हिउँसहितको भएको नेपाल र चीनले गरेको संयुक्त घोषणा कार्यक्रममा जानकारी गराइएको हो । नेपालले आफ्नै स्रोतसाधन प्रयोग गरी सगरमाथाको उचाइ पत्ता लगाएको हो । मंगलबार नेपाल र चीनले संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरेका हुन् । 

यसअघिको उचाइभन्दा ८६ सेन्टिमिटर बढी हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेका हुन् । 

नेपालले मापन गरेको उचाइ चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सार्वजनिक गरिएको हो । नापी विभागले आफ्नै जनशक्तिबाट फिल्ड सर्बेबाट प्राप्त तथ्यांक आफ्नै प्रयोगशालामा प्रशोधन गरेर उचाइ पत्ता लगाएको हो । यसअघि सन् १९५४ मा भारतको डिपार्टमेन्ट अफ सर्बेले लिएको उचाइ (८,८४८ मिटर)लाई नेपालले मान्यता दिएको थियो ।

चीनले भने आफैँले मापन गरेको उचाइ (८,८४४ मिटर) दाबी गर्दै आएको छ ।

विश्वको सर्वोच्च शिखरका रूपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपाल आफैँले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारत लगायतका मुलुकले गरेको मापन अन्तर्राष्ट्रिय रूपमा विवादित बन्नु, र वि.सं. २०७२ सालको विनाशकारी ’गोरखा भूकम्प’ को प्रभाव लगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले सगरमाथाको उचाइ मापन गरेको हो ।

सगरमाथाको उचाइ ९ जीएनएसएस बिन्दु प्रयोग गरेर पत्ता लगाइएको हो । उचाइ नाप्न विभागका दुई कर्मचारी अघिल्लो वर्षको मे महिनामा सर्वोच्च शिखरमा पुगेका थिए । नेपाल एक्लैले नापेको उचाइ घोषणा कार्यमा गत अक्टोबर महिनापछि चीन मिसिएको हो ।  चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा जारी संयुक्त वक्तव्यमा उचाइ संयुक्तरूपमा जारी गर्ने उल्लेख थियो ।