काठमाडौं । सगरमाथाको विवाद पहिलोपटक २०१६ सालबाट आमरुपमा बाहिर आएको हो । त्यसअघि सगरमाथामा चीनले दाबी गरेको थियो–थिएन भन्ने कुनै तथ्य भेटिँदैन । २०१६ साल फागुनमा चीन भ्रमण गरेर फर्किएपछि तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले चीनले सगरमाथा आफ्नो भएको दाबी गरेको सार्वजनिक गरेका थिए ।
तर त्यसबेलाका सञ्चारमाध्यममले चीनले गरेको उक्त दाबी प्रधानमन्त्रीले बताएको उल्लेख गरेका थिएनन् । कारण उनले सञ्चारमाध्यमलाई ‘अफ द रेकर्ड’ भन्दै जानकारी दिएका थिए । भलै उक्त जानकारी बीपी कोइरालाले नै दिएको धेरैले अनुमान लगाएको पत्रकार भैरव रिसाल बताउँछन् ।
“२०१६ साल फागुन २७ गते बीपी कोइराला चीन जानुभयो । चीनबाट फर्किएलगत्तै उहाँले काठमाडौंको एक नम्बर गेष्ट हाउसमा पत्रकार सम्मेलन गर्नुभयो,” भैरव भन्छन्, पत्रकार सम्मेलन सकियो । चिया खाजा खानलाई उठ्ने बेला भएको थियो । त्यही समय बीपी कोइरालाले अफ द रेकर्ड भनेर चीनले सगरमाथा दाबी गर्यो भन्नुभयो । त्यो समाचार भोलिपल्टका अन्तर्राष्ट्रिय समाचार माध्यमहरुमा ब्यानर न्युज बनेर आयो ।”
“त्यो बेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यम धेरैजसो भारतीय हुन्थे । चिया खाजा खान तयार भएका उनीहरु हतारहतार गरेर हिँडे । अहिलेको जस्तो घरघरबाट समाचार पठाउने व्यवस्था थिएन । एक नम्बर गेष्ट हाउसकै छेउमा टेलिकम्युनिकेसन थियो । त्यसबाट पठाउनुपर्थ्यो । उनीहरु सबै त्यहाँ गएर समाचार पठाए,” भैरव सम्झिन्छन्, “म चाहिँ प्रधानमन्त्रीको कार्यक्रममा मिठो चिया खाजा खान पाइन्छ भनेर खान थालेँ । दिउँसो हालखबर दैनिकको कार्यालय गएर सानो समाचार लेखेँ । अफ द रेकर्ड भन्दै बीपीले सगरमाथा चीनले मेरो भनेर दाबी गरेको बताए भनेर लेखेँ । समाचार हेरेपछि मलाई भनियो, अफ द रेकर्ड भनेपछि सूचना दिने मान्छेको नाम नलेख्नु भनेको हो । मैले पत्रकारिता नपढेका कारण पत्रकारिताको टम्स बुझिनँ त्यो बेला । मैले दुई प्याराको समाचार बनाएँ । तर भोलिपल्टका भारतीय अखबारहरुमा त त्यो समाचार ब्यानर न्युज भएर आएछ ।”
बीपीले चीनले सगरमाथा दाबी गरेको बताएपछि यो मुद्दा बहसमा आएको भैरव बताउँछन् ।
बीपी कोइरालाबारे अध्ययन गरेका पुरुषोत्तम बस्नेतका अनुसार चीनमा माओत्सेतुङले बीपीलाई सगरमाथा तपाईंको पनि आधा हाम्रो पनि आधा यसलाई मितेरी शिखर भनौैं भन्ने प्रस्ताव राखेका थिए । तर बीपीले नकार्दै भनेका थिए– सगरमाथा कसरी तपार्ईंहरुको हो ? सगरमाथा त हाम्रो हो ।
माओत्सेतुङले तपाईंहसँग यसको नाम त छैन भन्दा जवाफमा बीपीले ‘हामी यसलाई सगरमाथा भन्छौं’ भनेको पुरूषोत्तम बताउँछन् ।
“पछि ०१७ को वैशाखमा नेपाल आएका चाउ एनलाइले हाम्रो नक्सामा पनि सगरमाथा समावेश छ । नेपालको नक्सामा पनि समावेश रहेछ । हामीले नेपालले दिएको नक्सा मान्यौँ । हामीले हाम्रो दाबीलाई फिर्ता लियौँ भनेपछि सगरमाथा आधिकारिकरूपमा हाम्रै भयो,” पुरूषोत्तम भन्छन्, “पछि राजा महेन्द्रले पानी ढलो सिद्धान्तका आधारमा आधाआधा गरेका हुन् ।”
सीमा सम्झौतामा पनि यो विषयमा कुरा नमिले पछि चीनका तत्कालीन प्रधानमन्त्री चाउ एनलाई दोस्रोपटक विं.सं. ०१७ वैशाखमा आउँदा सहमति भएको हो । पानी ढलोको सिद्धान्तअनुसार सहमति गरियो । आकाशबाट परेको पानी जहाँबाट नेपालतर्फ बग्छ त्यो भाग नेपालको र जहाँबाट आकासको पानी चीनतर्फ बग्छ त्यहाँबाट चीनको भूभाग हुने सहमति भएको थियो ।
“चीनले दाबी गर्नुभन्दा अगाडि सगरमाथा खासै चर्चामा थिएन । त्यसपछाडि मात्रै चर्चामा आएको हो । त्योभन्दा अगाडि कञ्चनजङ्गा चर्चामा थियो,” उनी भन्छन् ।
प्रतिक्रिया