काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबारदेखि त्रिकोणात्मक सिरिज हुँदैछ । प्रदेश क्रिकेट संघ र चितवन जिल्ला क्रिकेट संघको आयोजनामा प्रतियोगिता हुने भएको हो । कोरोनाभाइरसका कारण करिब नौ महिना घरमा रहेका खेलाडीले उक्त प्रतियोगितामार्फत क्रिकेटमा पुनरागमन गर्ने भएका छन् ।
प्रतियोगिताका लागि सबै खेलाडीहरु तयार छन् । लामो समयपछि फर्कन लागेको क्रिकेटले खेलाडीहरुमा उत्साह पनि उत्तिकै रुपमा दिलाएको छ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट सुरूवात हुन लागेकोमा आफू धेरै उत्साहित भएको बताएका छन् । उनले चितवनमा हुन लागेको गौतमबुद्ध कप क्रिकेटले नौ महिनापछि खेलाडीका लागि क्रिकेट सुरूवात गर्ने राम्रो पाटो दिएको बताएका छन् ।
खड्का गौतमबुद्ध कप क्रिकेटका लागि नारायणी टिमका कप्तान हुन् । यस प्रतियोगिताले नयाँ खेलाडी र स्थानीय खेलाडीहरुका लागि केही अवसर सिर्जना गर्ने बनाएका छन् । “नौ महिनापछि क्रिकेट सुरू हुँदैछ त्यसका लागि सबैजना उत्साहित छौँ । खेलाडीका लागि लामो समयपछि क्रिकेट सुरू हुनु नै ठूलो उत्साहको विषय हो । अब सिरिजमा खेल्ने खेलाडीका लागि पनि उत्कृष्ट प्रदर्शन गर्ने वातावरण बनेको छ । स्थानीय खेलाडी पनि सहभागी हुने भएकाले उनीहरूलाई पनि आफ्नो प्रतिभा देखाउने मौका छ,” पारसले भने ।
उनले आफूहरुको टोली पनि राम्रो रहेकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने बताए । पारसले टिममा बन्द प्रशिक्षणमा नभएका खेलाडीले आफ्नो खेल क्षमता प्रस्तुत गर्ने अवसर गौतम बुद्ध कपबाट रहेको बताए । पारसको कप्तानीमा रहेको टिम नारायणीमा सुवास खकुरेल, करण केसी, सुशन भारीलगायतका खेलाडी छन् । त्यस्तै किशोर महात्व, सिद्धान्त लोहनी जस्ता खेलाडी पनि टिममा रहेका छन् ।
“सबै प्रतियोगिता क्रिकेट खेलाडीका लागि अवसरका रुपमा रहेको हुन्छ । गौतमबुद्ध कप पनि नयाँ तथा टिममा नरहेका खेलाडीका लागि प्रतिभा देखाउने अवसर छ । नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका खेलाडीका लागि पनि प्रशिक्षणमा यो प्रतियोगिताले राहत मिल्ने छ । त्यस्तै क्रिकेट प्रतियोगितामा आफूलाई अब्बल बनाउने कुरामा चितवनलाई यो प्रतियोगिताले राहत मिल्नेछ,” टिम नारायणीका कप्तान पारसले भने ।
यता टिम वागमतीमा कप्तान ज्ञानेन्द्र मल्लले पनि क्रिकेटको सुरूवातको विषयलाई लिएर खेलाडीहरु उत्साहित भएको बताए । यो प्रतियोगिता खेलाडीका लागि नयाँ तरिकाले क्रिकेटको सुरूवात गर्ने माध्यम बनेको बताए । उनले सबै खेलाडीलाई मिसाएर टिम बनाएको हुनाले सबैले आफ्नो शत प्रतिशत दिएर खेल्ने वातावरण बनेको बताए ।
“लामो समयपछि क्रिकेटमा फर्कने कुराले निकै उत्साहित बनाएको छ । यसले खेलाडीहरुलाई कुन प्रतियोगिता या कुन माध्यमबाट क्रिकेटमा फर्कने भन्ने कुराबाट पनि छुटकारा दिएको छ । हामी सबै प्रतियोगिताका लागि उत्साहित छौँ । टिम वागमतीले पनि प्रतियोगिताका लागि आफूलाई बलियो बनाएको छ,” मल्लले भने ।
शनिबारबाट सुरू हुने प्रतियोगिताका लागि तीन टोली तयार पारिएको छ । नेपाली टोलीका पूर्वकप्तान पारस खड्काको कप्तानीमा नारायणी टिम तयार पारिएको छ । त्यस्तै बागमती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् भने राप्तीको कप्तानी विनोद भण्डारीले गर्नेछन् । तीन टोलीको राउन्ड रोविन लिग पछि शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
तीनै टोलीमा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु र अन्य घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि रहेका खेलाडीहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा राष्ट्रिय टोलीका चार खेलाडीले सहभागिता नजनाउने भएका छन् । नेपाली टोलीका उप–कप्तान दिपेन्द्र ऐरी र कुशल मल्ल चोटका कारण उपस्थित नहुने भएका हुन् । त्यस्तै बसन्त रेग्मी कोरोनाका कारण सहभागी नहुँदा सन्दीप पनि प्रतियोगितामा सहभागी हुने छैनन् । – बारह्खरी
प्रतिक्रिया