मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवा नजाने भएपछि संवैधानिक परिषद्को बैठक रोकियो

देउवा नजाने भएपछि संवैधानिक परिषद्को बैठक रोकियो


काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवा नआउने भएपछि आइतबार (आज) बोलाइएको संवैधानिक परिषद्को बैठक नहुने भएको छ । बैठक आज बिहान ९ बजेलाई तय गरिएको थियो ।

“प्रमुख प्रतिपक्षी दलका नेता नआउने भएपछि आजको बैठक नबस्ने भएको छ । अर्को दिन तय होला,” प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा रहेका एक सदस्यले भने । स्थायी कमिटीको बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए ।

पार्टीभित्रको विवाद यथावत् रहेको अवस्थामा बैठक स्थगित गर्न प्रधानमन्त्रीलाई नेकपाभित्रैबाट दबाब थियो । त्यस्तै काङ्ग्रेस सभापति देउवालाई पनि बैठकमा नजान पार्टीभित्र दबाब थियो ।

सोमबार सरकारविरूद्ध देशव्यापी विरोध प्रदर्शन राखिएकाले परिषद्को बैठकमा सहभागी भएर भागबन्डा गर्न नहुने र त्यसले गलत सन्देश जाने काङ्ग्रेस नेताहरूले बताउँदै आएका थिए ।

यसअघिका पनि देउवा अनुपस्थित हुँदा संवैधानिक परिषद्को बैठक प्रभावित हुँदै आएको थियो । परिषद्को बैठक नबस्दा ४५ बढी संवैधानिक पदहरू पूर्ति हुन सकेको छैन ।